भवन कार्यालयको ठेक्कामा चलखेल, सुचना गोप्य राखी प्रतिस्पर्धामा रोकावट


झगनखबर

 मंसिर ८ । शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले सुचना लुकाई मिलेमतोमा ठेक्का निकालेको आरोप लागेको छ । ओखलपढुंगा जिल्ला र सोलुखुम्बु जिल्लाका लागी निकालीएको ठेक्कामा सुचना गोप्य राखी प्रतिस्पर्धामा सिमित गरेको आरोप लागेको हो । ओखलढुंगा निर्माण व्यवसायी संघले नागरिकको मौलिक हकको रुपमा भएको सुचनाको हकलाई समेत कुन्ठीत पारेर भवन कार्यालयले मिलेमतोमा ठेक्का वितरण गरेको आरोप लगाएको छ । आफ्नो मुठीभित्रका निर्माण व्यावसायीलाई ठेक्का वितरण गर्ने मनसायले निकालेको ठेक्काको सुचनालाई बद्धर गर्नको लागी निवेदन समेत दर्ता गरिएको व्यावसायीले बताएका छन् । यदि निवेदनको आधारमा ठेक्का रद्ध नभए अदालत सम्म जाने तयारी भईरहेको बताएका छन् ।

 भवन कार्यालयले कार्तिक १२ गतेको मितिमा एक स्थानिय पत्रिकामा सिलबन्दी दरभाउपत्र आव्हानको सुचना प्रकाशन गरेको थियो । उक्त सुचना प्रकाशन भएको पत्रिका बजारमा कुनै पनि ठाउँमा नपाएको, कार्यालयको सुचना पार्टीमा समेत नटाँसिएको र दिनु पर्ने कार्यालयमा समेत सुचना नपठाई गोप्य राखिनुले आर्थीक चलखेल र प्रलोभनमा परी ठेक्का वितरण गरेको हुनसक्ने आरोप लगाएका छन् ।

गैरकानुनी तवरबाट गरिएको हार्डकपी दरभाउपत्र खरिद गर्ने प्रकृयालाई रोक्नको लागी संघले निबेदन दिइएको थियो । उक्त निवेदन माथी छलफलमा कार्यालय प्रमुखले सबै निर्माण व्यावसायी मिलेर आउन र आगामी दिनमा हुने काम सबै मिलेर गर्न प्रस्ताव गर्नुभएको थियो । गैरकानुनी तवरले भएको काममा मिलेर जाने सोच नभएकाले बैठकमा कुनै निष्कर्ष ननिस्केको निर्माण व्यावसायी तथा संघका सचिव युवराज गजमेरले बताउनु भयो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले २०८० साल असार २१ गते सरकारी कोषबाट खरिद हुने अनिवार्य विद्युतिय खरिद प्रणाली बाट गर्न निर्णय गरि निर्देशिका समेत जारी गरेको छ । विद्युतिय प्रणालीबाट अनिवार्य खरिद बिक्री गरिनुपर्ने ब्यवस्थालाई बेवास्ता गर्दै कार्यालयले हार्डकपी बोलपत्र बिक्री गरेर ठेक्का प्रकृया अगाडी बढाएको हो ।

ओखलढुंगा जिल्लाका लागी ७ वटा र सोलुखुम्बु जिल्लाका लागी १ वटा ठेक्का हार्डकपी बोलपत्र आव्हान गरिएको थियो । करिब १ करोड १५ लाख बराबरको ठेक्का हार्डकपी बोलपत्र मार्फत आव्हान गरिएको थियो ।

कार्यालय प्रमुख अनुज श्रेष्ठले भने पत्रिकामा सुचना प्रकाशन गर्न दिने हो तर सुचना कसले पायो कसले पाएन भनेर पत्रिका बोकेर हिड्ने आफ्नो काम नभएको बताएका छन् । विद्युतिय प्रणाली बाट ठेक्का विरण गरिनुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले आफ्नो कार्यालयमा कुनै पनि परिपत्र र जानकारी नपठाएकाले हार्डकपी बोल पत्रको  सुचना प्रकाशन गरेको प्रमुख श्रेष्ठले बताउनु भयो । निर्माण व्यावसायीले भने सुचना प्रकाशन भएको पत्रिका सबैको मिलेमतोमा लुकाई कसैलाई पनि पत्रिका वितरण नगरेको आरोप लगाएका छन् ।

 

 

 

प्रतिक्रिया