सार्वजनिक सुनुवाईमा बाँदर आतङ्कदेखि गुणस्तरीय शिक्षा, रोजगार अभावको गुनासो


राजकुमार कार्की

 असार २ । सिद्धिचरण नगरपालिकाले जेठ २१ गते देखि ३१ गते सम्म आयोजना गरेको सार्वजनिक सुनुवाईमा बाँदर आतङ्क न्युनीकरण, शिक्षामा गुणस्तर बृद्धि गर्न र गाउँमै रोजगारी सिर्जना गर्न  माग गरेका छन् ।  दुःख गरेर लगाएको कृषीबाली बाँदरले एकैछिनमा नष्ट गरिदिने भएकाले बाँदर नियन्त्रण गरिदिन नगरपालिका समक्ष माग गरेका छन् ।

 बाँदर आतङ्कबाट खेतबारीको अन्नबाली जोगाएर बस्न सक्ने अवस्था नभएकाले बाँदर मारेर नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन् । बाँदरले मान्छेलाई जितेर सबै अन्नबाली खाइदिने भएकाले बाँँदरसँग जुधेर बस्न नसक्ने गुनासो गरेका छन् । गुनासोको जवाफ दिदै नगर प्रमुख तेजेन्द्र खनालले प्रयाप्त कानूनी अभावका कारण बाँदर मार्न कठिन हुने बताउनु भयो । उहाँले भन्नुभयो; ‘स्थानीय सरकारले बाँदर मार्ने कानून बनाउन सक्द्ैन, संघ सरकारले पनि बाँदर मार्ने कानून बनाएको छैन । स्थानीय तहमा बजेटको श्रोत कम भएका कारण बाँदर नियन्त्रणका लागि बजेटको व्यवस्था गर्न  पनि नसकिने रहेछ ।’

बाँदर आतङ्कलाई न्युनीकरण गर्ने केहि उपाय सोच्न सकिएला ! तर स्थानीय सरकार हो भन्दैमा  बाँदर मार्ने  कानून बनाएर लागू गर्न नसकिने नगरउपप्रमुख केदारबावु बस्नेतले बताउनु भयो  ।

त्यसैगरी सार्वजनिक सुनुवाई कार्यक्रममै सहभागीले गाउँमा गुणस्तरीय शिक्षा र रोजगारीको अभावका कारण नागरिकले गाउँ छोड्न बाध्ये भएकाले स्थानीय सरकारले रोजगारी सिर्जना हुने खालको योजना बनाउन माग गरेका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि र गाउँमै रोजगारीको सिर्जना गर्न नसक्ने हो भने, गाउँ बृद्धाश्रममा परिणत हुने खतरा बढेको तलुवाका बेदुकाजी घिमिरेले गुनासो गर्नुभयो । त्यसैगरी कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षकले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालको शिक्षाको गुणस्तर कमजोर भएको घामजस्तै छर्लङ्ग भएको भन्दै शिक्षकले आफ्ना सन्तान किन निजी विद्यालयमा पढाएका हुन खुलस्त बनाउनु पर्ने माग समेत गरेका छन् ।

सिद्धिचरण नगरपालिकाले मातहतमा रहेका वडा तथा विषयगत शाखाबाट वितरण गरिने सेवा प्रवाहको प्रभावकारीता र ०८२÷०८३ मा सन्चालन गरिएका योजनाहरुको गुणस्तरीयताका विषयमा नागरिक सँग प्रत्यक्ष उपस्थित भई सार्वजनिक सुनुवाईको आयोजना गरिएको थियो । नगरपालिकाले गरेका विकास निर्माणका योजना तथा सेवा प्रवाहका विषयमा नागरिकहरु सन्तुष्टी हुनुहुन्छ वा हुनुहुन्न भन्ने विषयमा सवाल जवाफ गर्दै नगरपालिकाको तर्फबाट कुनै कमजोरी भएको भए त्यसलाई सुधार गर्दे पारदर्शी, जवाफदेहि र सुशासित नगरपालिका बनाउन आफु निर्वाचित भएदेखि प्रत्येक वर्ष सबै वडामा सार्वजनिक सुनुवाई गर्दै आएको नगर प्रमुख तेजेन्द्र खनालले बताउनु भयो ।  


प्रतिक्रिया