असोज १३ । धादिङको
धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।
शनिबार हिजो १४ जना र आइतबार आज २३ जना
गरि जम्मा ३७ जनाको शव निकालिएको हो । गोरखाबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक
बससहित केही साना गाडीहरु पनि पुरिएको आशंका प्रहरीले गरेको छ । उक्त पहिरो
हिजोदेखि नै पन्छाउने काम भइरहेको छ । यसअघि हिजो उक्त पहिरोमा परेर १४ जनाको शव
फेला परेको थियो ।
झ्याप्ले खोलामा गएको
पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो
बस परेको पुष्टि भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र
सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको छ ।
यसैबीच पाल्पाको अगाहाखोलाबाट छुटेको बस पनि
सम्पर्कविहीन भएको खवर छ । पाल्पाको अगाहा खोलाबाट शुक्रबार रातिका छुटेको ग २ ख
१५१३ नम्बरको बस सम्पर्कविहीन भएको बस धनी विमल अर्यालले जानकारी गराउनु भएको छ ।
उहाँका अनुसार अगाहाखोलाबाट स्याङ्जा–पोखरा हुँदै काठमाडौं आउन लागेको रात्री
बसका चालक र सहचालकसँग सम्पर्कविहीन रहेका छन् । बसमा १८ देखि २० जना यात्रु रहेका
थिए ।