करार सेवाका कर्मचारीको सम्झौता रद्द गर्ने सुनकोशीको निर्णय


राजकुमार कार्की

 कातिक १ । सुनकोशी गाउँपालिकाले स्वीकृत दरबन्दीभित्र नरहेका कर्मचारीको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले स्वीकृत दरबन्दी बाहेकका  कर्मचारीहरुको  सम्झौता रद्द गर्ने निर्णय गरेको हो । स्वीकृत दरबन्दी बाहेकका कर्मचारीको सम्झौता रद्द गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले गरेको परिपत्रानुसार सम्झौता रद्द गरिएको पालिका अध्यक्ष कमल तामङ्गले  जानकारी दिनुभयो ।

असोज ५ गते बसेको  नेपाल सरकार मन्त्रीपरिषदको बैठकमा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थाई तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय गरेको थियो । सोइ निर्णय कार्यान्वयन गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ गते  च.नं ११३ को पत्र र अर्थ मन्त्रालयले असोज ७ गते च.न. ११८ को पत्र पठाएका थिए । नेपाल सरकारले गरेको निर्णय अनुसार गाउँपालिकाको श्रोतबाट तलब भत्ता भुक्तानी हुने करार तथा ज्यादारी  कर्मचारीको कातिक १५ गतेबाट लागु हुने गरि सम्झौता रद्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी, पशुप्राविधिक कार्यालय सहयोगी लगायत २५ जनाको सम्झौता रद्द गरिएको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकको निर्णय उदृत गर्दै  १५ दिनको सुचना सार्वजनिक गरेको छ । कार्यपालिकाको बैठकले कातिक १५ गते बाट लागु हुनेगरी कर्मचारीको सम्झौता रद्द गरिएको बताएको छ ।

यो सुचनानुसार सम्झौता रद्ध गरिएका कर्मचारीहररुले अझै १५ दिन सम्म काम गर्न पाउनेछन् । करार कर्मचारीको सम्झौतमा, सम्झौता भंग गर्नुपरेमा कर्मचारीलाई १५ दिन अगावै जानकारी दिनुपर्नेछ भन्ने प्रावधान भएकाले १५ दिनको म्याद राखेर सुचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताउनु भयो ।

प्रतिक्रिया