जाँचबुझ आयोगले बालकुमारी घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझायो


झगनखबर

फागुन ४ ।  बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले  गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ। दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले  उपप्रधानमन्त्री एवम् गृहमन्त्री  श्रेष्ठलाई   ४४ दिनपछि प्रतिवेदन बुझाएको  हो । प्रतिवेदन शुक्रबार उपप्रधान तथा गृह मन्त्रीलाई बुझाइएको छ ।  प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदनमा निकालिएको निष्कर्षलाई कार्यान्वयन गरिने बताउनु भयो ।

पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो । साथै आक्रोशित प्रदर्शनकारीले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्नेगरी नेपाल सरकार (मन्त्रिपरिषद्ले) पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो ।

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भटाराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरू गरेको थियो। तोकिएको समयमा कार्य सम्पन्न हुन नसकेकोले नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८० । १० । १८ गतेको निर्णयबाट फागुन ५ गतेसम्म (१४ दिन) म्याद) थप भएको थियो ।

आयोगका अध्यक्ष पौडेलका अनुसार घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेर प्रतिवेदन तयार पारिएको हो ।

 

 

प्रतिक्रिया