राजकुमार कार्की
मंसिर २० ।
जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाले महिला सामुदायिक स्वास्थ्य
स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवसको
अवसरमा बिहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । एक पालिका
एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । जिल्लाका ८ वटा
पालिकाका ८ जना उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान
गरिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा रुम्जाटारका निमित्त स्वास्थ्य प्रमुख
नवराज बानियाले जानकारी दिनुभयो । सिद्धिचरण नगरपालिकाबाट धनकुमारी राई, खिजीदेम्बा
गाउँपालिकाबाट विद्यादेवी सुनुवार, लिखु गाउँपालिकाबाट तारदेवी श्रेष्ठ, चम्पादेवी
गाउँपालिकाबाट लक्ष्मी बराल, सुनकोशी गाउँपालिकाबाट अनिसा मगर, मोलुङ्ग
गाउँपालिकाबाट इन्द्रकमल सुनुवार, मानेभञ्ज्याङ्ग गाउँपालिकाबाट गुमसरी राई र
चिशंखुगढी गाउँपालिकाबाट निशा माझीलाई लाई सम्मान गरिएको हो ।
सम्मानित
स्वयंसेविकालाई दोसल्ला ओढाई, प्रशंसा पत्र र नगद रु १२ हजार सहित सम्मान गरिएको
जानकारी दिएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा भएको सम्मान कार्यक्रममा
जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईको प्रमुख आतिथ्य तथा
सिद्धिचरण नगरप्रमुख तेजन खनालको विशिष्ट आतिथ्य र जिसस उपप्रमुख तारादेवी
कार्कीको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
राज्यले आफुहरुलाई
सामान्य कुराहरुमा पनि सहयोग नगरेको स्वयंसेविकाहरुले गुनासो गरेका छन् । गाउँको
घरघरमा पुग्दा आवश्यक पर्ने सामान्य कुराहरु ( झोला, छाता, कैँची, थर्माेमिटर) जस्ता
कुराहरु पनि उपलब्ध नगराएको गुनासो गरेका छन् । त्यसै गरी पालिका अनुसार
स्वयंसेविकालाई दिने सुविधा फरक भएकाले अबका दिनमा जिल्लाभरीका सबै स्वयंसेविकालाई
दिइने सुविधामा एकरुप्ता गर्न समेत माग गरेका छन् ।