सुदूरपश्चिमका मुख्यमन्त्री कांग्रेसका शाहले पाए विश्वासको मत


धनगढी २१, फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले  विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री शाहले पेश गरेको प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको थियो । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । 

५३ सदस्यीय प्रदेशसभामा प्राप्त भएको ४१ मत  दुई तिहाइ भन्दा बढी हो । २६ माघमा संविधानको धारा १६८ को उपधारा ३० अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जोशीले विश्वासको मत दिएका हुन् ।  एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा  पुस २७ मा मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल नियुक्त भएका थिए । उनले  प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि शाह  माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा ३० अनुसार ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । विश्वासको मत दिने दलहरुले शाह नेतृत्वको सरकारमा सहभागीसमेत हुने निर्णय गरेको बताएका छन्  छन् ।

प्रतिक्रिया