ओखलढुंगा २३, फागुन । जिल्लाको
चम्पादेवी गाउँपालिकाले आयोजना गरेको अध्यक्षकप खेलकुद प्रतियोगितामा पहिलो पटक
गोरुजुधाई प्रतियोगिता गरिएको छ ।
ओखलढुंगा जिल्लामा पुरस्कार वितरण सहित सरकारी तहबाट आयोजना गरिएको खेलकुद प्रतियोगितामा
पहिलो पटक गोरुजुधाई प्रतियोगिता गरिएको हो । गाउँपालिकाद्वारा निर्माण गरिएको
जिल्लाकै सबैभन्दा ठुलो खेलमैदान चम्पादेवी गाउँपालिका वडा नं. ९ स्थित द.डल्ली
डाँडामा भएको ‘श्रीचम्पादेवी’ खेलमैदानमा
फागुन १९ गते देखि अध्यक्ष कप खेलकुद प्रतियोगिताको शुरु भएको थियो । गोरुजुधाई
प्रतियोगिता सँगसँगै जिल्लाकै सर्वाधिक पुरस्कार रहेको अन्तरपालिकास्तरिय खुल्ला
भलिबल प्रतियोगिता, घोडादौड प्रतियोगिता,जीवन संगिनी बोकेर दौडिने प्रतियोगिता, घैटोफोर
प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, तान डोरी प्रतियोगिता, बालन प्रतियोगिता
लगायतका प्रतियोगिता गरिएको सामाजिक विकास समितिका संयोजक विष्णु पुलामी मगरले
जानकारी दिनु भयो ।
खेलमा ५ वटा गोरुको सहभागिता रहेको थियो । सहभागी गोरुमध्ये
चम्पादेवी –८ का बल बहादुर राईको फुर्के गोरु प्रथम, चम्पादेवी –९ का दिपक
राईको फुर्के गोरु द्वितिय र चम्पादेवी –९ का छेपाल शेर्पाको फुर्के गोरु तृतिय भएका
थिए । प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः ३० हजार, २० हजार १० हजार नगद पुरस्कार वितरण गरिएको थियो ।
रैथाने खेलहरु र स्थानिय प्रतियोगिताको थप विकास र प्रबद्र्धन गर्नको लागि सरकारी तहबाटै रैथाने खेल प्रतियोगिताको आयोजना गरिएको चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केसीले बताउनु भयो ।
अन्तरपालिकास्तरीय खुल्ला भलिबल
प्रतियोगितामा चिसंखुगढी गाउँपालिका ओखलढुंगा प्रथम, चम्पादेवी गाउँपालिका
ओखलढुंगा द्वितिय, गोकुलगङ्गा गाउँपालिका रामेछाप तृतिय र लिखु गाउँपालिका
ओखलढुंगा (ए) शान्त्वना भएका थिए । प्रथम, द्वितिय, तृतिय र शान्त्वना हुनेहरुलाई क्रमशः रु २
लाख, १ लाख ५० हजार, १ लाख र ४० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण
पत्र वितरण गरिएको थियो ।
खुल्ला घोडा दौड प्रतियोगितामा चम्पादेवी –९ का जित बहादुर चौरेल (माइकल) को घोडा राजा प्रथम, चम्पादेवी –४ का इन्द्र बहादुर खत्रीको घोडा बादल द्वितिय खिजीदेम्बा –५ का पासाङ शेर्पाको घोडा तृतिय र मोलुङ गाउँपालिका –६ की जङमु शेर्पा (मंसिरे कान्छी) को घोडा शान्त्वना भएका थिए । प्रथम, द्वितिय, तृतिय र शान्त्वना हुनेहरुलाई क्रमशः रु ४० हजार, ३० हजार, २० हजार ५ हजार नगद सहित मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।जीवन संगिनी बोकेर दोडिने प्रतियोगितामा चम्पादेवी –८ का गणेश गुरुङ्ग र श्रीमती विनिता गुरुङ्ग प्रथम, चम्पादेवी –६ का कुबेर कार्की र श्रीमती शुसिला बोगटी ( कार्की) द्वितिय र चम्पादेवी –९ का बालकुमार मिश्र र श्रीमती आशा मिश्र तृतिय भएका थिए । प्रथम, द्वितिय र तृतिय हुने जोडीलाई क्रमशः रु ७ हजार, ५ हजार ३ हजार नगद सहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
तानडोरी प्रतियोगितामा ज्ञान बहादुर खत्रीको
टिम प्रथम, तोरण बुढाथोकीको टिम द्वितिय र केशव खड्काको टिम तृतिय भएका थिए
। प्रथम, द्वितिय र तृतिय हुनेहरुलाई क्रमशः रु २० हजार, १० हजार ५
हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
लोकदोहोरी प्रतियोगितामा अर्जुन घिमिरेको टिम प्रथम, रमिता मगरको टिम द्वितिय र अनिता मगरको टिम तृतिय भएका थिए । प्रथम द्वितिय र तृतिय हुनेहरुलाई क्रमशः रु १५ हजार, १० हजार, ५ हजार नगद सहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
खेलकुदका विजेता तथा उपविजेताहरुलाई कोशी प्रदेशका प्रदेश सभा सदस्य प्रदिप कुमार सुनुवार र चम्पादेवी गाउँपालिका प्रमुख नवराज केसीले पुरस्कार वितरण गर्नु भएको थियो