वस्ति नजिकै किङ्ग कोब्राको गुँड भेटेपछि स्थानीयबासी त्रसित


राजकुमार कार्की

 साउन ११ । अत्यधिक विषालु र आक्रामक मानिने सर्प किङ्ग कोब्राको गुँड बस्ति नजिकै भेटिएपछि स्थानीयबासी त्रसित बनेका छन् । जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ४, घर्तिगाउँको लामाटार ढिकुरे वनमा र वडा नं ९ मिश्रभञ्ज्याङ्गको जंगलमा किङ्ग कोब्राको गुँड भेटिएको हो । ढिकुरे वनमा करिब डेढ महिनादेखि उक्त ठाउँमा गुँड बनाएर बसिरहेको छ भने मिश्रभञ्ज्याङ्गको चम्पादेवी सामुदायिक वनमा करिब १ महिना देखि गुँड बनाएर बसिरहेको छ । चम्पादेवी ९ का राजकुमार फुयलले बाँदर लखेट्नेक्रममा भटेको बताउनु भएको छ ।  त्यसै गरी चम्पादेवी ४ मा देवी पौडेलले बाख्रा चराउनेक्रममा भेटेको जानकारी दिएका छन् ।

स्थानीय देवी पौडेल दिउँसो बाख्रा चराउन गएको अवस्थामा सर्प सल्लिपिरको थुप्रोमाथी बसेको देख्नु भएको थियो । ठुलो लामो कालो सर्प थुप्रोमाथी बसेको देखेपछि उहाँको सात्तो गएको थियो । उहाँले घरमा आएर सल्लिपिरको थुप्रोमा ठुलो सर्प बसेको छ भन्नु भयो । तर सर्प बस्ने र जाने कुरामा कसैको पनि चासो गएन । पछि करिब डेढमहिना पछि जाँदा त्यहाँ पुग्दा त्यो सर्प त्यहि सल्लिपिरको थुप्रो माथी नै बसेको देखेपछि स्थानीयबासी चकित र त्रसित बनेका छन् ।

चम्पदेवी ९ का राजकुमार फुयलका अनुसार, ‘बाँदर लखेट्दै जाने क्रममा पात र सुकेका साना हाँगाहरु जम्मा गरि बनाइएको थुप्रोमाथी सर्प बसेको रहेछ । ठुलो सर्प बसेको देखेपछि डर लागेर आयो एक्लै जान नसकेर गाउँका अरु साथीहरुलाई लिएर जाँदा सर्प त्यहि बसिरहेको थियो । गाउँका मानिसहरुले सर्पको फोटो खिचेर फर्किए । यहाँ ३÷४ दिनको फरकमा आउँदा फरक फरक सर्प बसेको देखियो । सायद भालेपोथी होलान् ।

चम्पादेवी ४ का मिन बहादुर गिरीका अनुसार, ‘करिब २ डोकाजति सल्लिपिर एकठाउँमा थुपारिएको छ । विहान बेलुका त्यो थुप्रो माथी नै बस्छ भने दिउँसोको चर्काे घाममा थुप्रो भित्र पसेर बस्ने गरेको छ । मान्छे गएको बेला वा कसैको हचक पाएको खण्डमा फणा निकालेर लखेट्न आउने गरेको छ ।

यस्ता विषालु सर्प पहाडमा ठाउँठाउँमा बच्चा हुर्काउन ओथारो बसेको अवस्थामा भेटिनुले स्थानीयबासी त्रसित अवस्थामा रहेका छन् । यस्ता विषालु सर्पलाई समयमै नियन्त्रण, व्यवस्थापन नगरे ठुलो क्षति हुनसक्ने स्थानीयबासीको गुनासो रहेको छ ।

 सर्प कुन प्रजातीकाे हो भनेर स्थानीबासीले छुट्टयाउन सक्ने अवस्था छैन । तर पातपतिङ्गर जम्मा गरेर ओथारो बस्नु, मानिस वा पशुचौपया गएको बेलामा फणा फुकाएर उठेर आक्रमण गर्नुले किङ्ग कोब्रा हुनसक्ने अनुमान गरिएको छ ।

पहाडमा यस्ता खालका विषालु सर्प भेटिनु खतरा हुने भएकाले यसलाई नियन्त्रण व्यवस्थापन गर्न तत्काल पहल गर्ने जिल्ला वन कार्यालयका प्रमुख मनराज राईले बताउनु भयो ।

चम्पादेवी ४ ढिकुरे वनमा सल्लिपिरकाे थुप्राेमा रहेको किङ्ग कोब्रा,  मान्छेको गन्ध पाएपछि आक्रामक शैलीमा बसेको अवस्थाको फोटो :   


प्रतिक्रिया