ओखलढुंगा १७, फागुन । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाले निर्माण गरेको श्रीचम्पादेवी खेलमैदान डल्लिडाँडा जिल्लाकै ठुलो र उच्चस्थानमा रहेको खेल मैदान हो । एक स्थानिय तह, एक खेलमैदानको अवधारणा अन्तर्गत निर्माण भएको चम्पादेवी गाउँपालिका वडा नं ९ स्थित डल्लीडाँडाको खेलमैदान, जिल्लाका अन्य स्थानिय तहमा भएका मध्य सबै भन्दा ठुलो खेलमैदान हो । समुन्द्री सतह देखि २ हजार मिटरको उचाईमा रहेको यो खेल मैदान जिल्लाकै उच्च स्थानमा भएको खेल मैदान पनि हो । गाउँपालिकाले क्रमागत बजेट बिनियोजन गर्दै निर्माण गरेको यो खेल मैदान पुर्ण रुपमा सन्चालनमा आएको छ । यो वर्षदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सबै खेलहरु यहि मैदानमा एकै पटक सन्चालन गरिएको थियो । फुटबल खेल प्रतियोगिता सन्चालन गर्न सकिने यो खेल मैदान १ सय ४५ मिटर लम्बाई र ९० मिटर चौडाई रहेको चम्पादेवी गाउँपालिकाले जनाएको छ । यो खेलमैदान लाई राष्ट्रिय मापदन्ड अनुसारको खेलमैदान निर्माण गरि प्रदेशस्तरिय खेल र राष्ट्रियस्तरको खेल प्रतियोगिता गाराउन सक्ने क्षमताको खेलमैदान बनाउने गाउँपालिका अध्यक्ष नबराज केसीले बताउनुभयो । साथै उहाँले भन्नुभयो; 'जिल्लाको सबैभन्दा ठुलो र उच्चस्थानमा रहेको यो श्रीचम्पादेवी खेल मैदानमा राष्ट्रिय स्तरको खेल सन्चालन गर्ने लक्ष्य रहेको छ ।' जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थल श्रीचम्पादेवीको मन्दिर नजिकै रहेको यो खेलमैदानलाई थप बृद्धि गर्न सकिने र बृद्धि गर्दै लैजाने वडा नं. ९ का वडाअध्यक्ष सुजन पौडेलले बताउनु भयो । उहाँका अनुसार; '१ सय रोपनी भन्दा बढी क्षेत्रफल रहेको यस स्थानमा ३० रोपनी जति खारिएको छ, बाँकी सबै प्रयोग गर्न सकिने ठाउँ रहेको छ ।' सार्वजनिक रुपमा रहेको जग्गालाई वडाबासीको सहमति र माग अनुसार कार्यापालिकाको बैठकको निर्णयानुसार खेलमैदान निर्माण गर्न शुरु गरिएको थियो । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सबै खेलहरु एकै पटक सन्चालन गर्न मिल्ने जिल्लाको एकमात्र खेलमैदान श्रीचम्पादेवी खेलमैदान भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव बालकुमार खनालले बताउनु भयो । खेलमैदानलाई पुर्ण रुप दिनको लागि गाउँपालिकाले यो वर्ष ८ करोडको डिपिआर तयार पारेको छ । डिपिआर अनुसारको खेलमैदान निर्माण सम्पन्न भएपश्चात राष्ट्रिय स्तरको खेलमैदान बन्ने स्थानियबासीले बताएका छन् ।