राजकुमार कार्की
माघ २३ । नेपाली कांग्रेसका पुराना तथा
अग्रज नेता एवं जिल्ला कार्यसमितिका पुर्व सचिव
देवी बहादुर केसीको निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल
काठमाण्डौमा उपचारको क्रममा माघ २२ गते निधन भएको हो । २००१ सालमा ओखलढुंगाको
साबिक नाराणस्थान गाविस –४, हाल सिद्धिचरण नगरपालिका– ३ मा जन्मनु भएका केसी सानै उमेरदेखि सामाजिक
सेवामा लाग्नुभएको थियो । शिक्षण पेशामा आबद्ध हुनुभएका केसी प्रजातन्त्र
प्राप्तीका लागि समेत लड्नु भएको थियो ।
प्रजातन्त्रको पुनःप्राप्ति पछि २०४९ सालमा नेपाली
कांग्रेसको तर्फबाट नारायणस्थान गाउँविकास समितिको अध्यक्ष पदमा निर्विरोध
निर्वाचित हुनुभएको थियो । २०५४ को स्थानिय निकायको निर्वाचनमा पनि अध्यक्ष पदमा निर्वाचित हुनुभयो । नेपाली
कांग्रेसको जिल्ला कार्यसमिति सचिव हुनुका साथै विभिन्न जिम्मेवारीमा रही आफ्नो
भूमिका निर्वाह गर्नुभएको थियो । देवी बहादुर केसी नेपाली कांग्रेसका वर्तमान सभापति तेजन खनालका
काका समेत हुनुहुन्थ्यो ।
काठमाण्डौमा बस्दै आउनुभएका केसी मृगौला रोगबाट
पिडित भई लामो समयदेखि उपचार गराइरहनु भएको थियो । उहाँका श्रीमति दुई छोरा, दुई छोरी रहेका छन् । पार्टी संगठक, अग्रज नेता केसीको निधनले नेपाली
कांग्रेस ओखलढुंगालाई अपूरणीय क्षति भएको
पार्टी सभापति तेजन खनालले बताउनु भयो । केसीको निधन प्रति गहिरो दुःख ब्यक्त
गर्दै माघ २३ गते एकदिन नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय बन्द गर्ने, ५ दिन पार्टीको झण्डा झुकाउने र १२ दिन
स्वर्गीय केसीको फोटो सहित शोकपुस्तिका राख्ने जानकारी दिएका छन् । पार्टी
उपसभापति नवराज केसीको हस्ताक्षरमा शोक वक्तव्य प्रकाशन गरी स्वर्गीय केसी प्रति
श्रद्धान्जली र शोकाकुल परिवार प्रति समबेदना समेत प्रकट गरिएको छ ।