माघ २६ । नेपाली कांग्रेस ओखलढुंगाको महासमिति सदस्य चयन प्रकृया गलत भएको भन्दै
असन्तुष्ट पक्षले उजुरी दर्ता गराएका छन् । महासमिती छनोट प्रकृयामाथि असहमति
जनाउँदै ८ जना महाधिवेशन प्रतिनिधिले केन्द्रीय निर्वाचन समितिमा उजुरी दर्ता
गराएका हुन् । जिल्ला कार्यसमिति ओखलढुंगाले माघ २० गते चुनावको कार्यतालिका तोकी
१९ गते अन्तिम नामावली प्रकाशन गरेको थियो । पार्टीको विधि, विधान र पद्दती अनुसार नभई
उम्मेदवारहरुबीच छलफल नै नगरी विधिप्रकृया मिचेर रातारात घोषणा गरेको आरोप
लगाउदै जिल्ला कार्यसमिति ओखलढुंगा
विरुद्द माघ २१ गते केन्द्रिय निर्वाचन समितिमा उजुरी दिएको बताएका छन् ।
केन्द्रीय निर्वाचन समितिमा दिएको
उजुरीमा, १४औँ महाधिवेशनका लागि ओखलढुंगा
जिल्लाबाट निर्वाचित महाधिबेशन प्रतिनिधीहरुले विधानत छनौट हुनुपर्ने महासमिति
सदस्यहरुका लागि २०७८ साल मंसिर १० गते दरखास्त आव्हान भएको र सोहि अनुसार दरखास्त
पेश गरिएको अवस्थामा आकाङक्षीहरु बीच सहमतिका लागि कुनै छलफल नै नगरी बिधी, प्रकृयालाई मिचेर अगाडीकै मितिमा
निर्वाचन कार्यतालिकाको सूचना प्रकाशित गरी निर्विरोध महासमिति सदस्यहरु घोषणा
गरेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, भनिएको
छ । त्यसै गरी 'माघ
१९ गते बेलुका सम्म काठमाण्डौमै रहेका साथीहरु रातारात सिन्धुलीको रिसोर्टमा पुगेर
कागज पत्र मिलाई २० गते दिउँसो ओखलढुंगा
पुगेर कार्यतालिका सहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै विधी र
प्रकृयाको धज्जी उडाएको' आरोप लगाउदै । 'कानुनी र बैधानिक बाटो अबलम्बन गर्दै पञ्चायती शैलीमा रातारात कागजात
मिलाएर घोषणा गरिएको महासमिति सदस्यहरुको चयन प्रकृया खारेज गरी विधिवत रुपमा
महासमिति चयन प्रकृया अगाडी बढाउन सम्बन्धित पक्षलाई चेतावी सहित निर्देशन दिनु
हुन अनुरोध गर्दछौ, भनिएको छ ।'
यता जिल्ला कार्यसमिति ओखलढुंगाले भने
सबै जना साथीहरु बिचमा र केन्द्रीय नेताहरु सँग आपसी छलफल र सहमति अनुसार नै
महासमिति सदस्यहरु घोषणा गरिएको बताएका छन् । केन्द्रीय निर्वाचन समितिको
अख्तियारी प्राप्त गरी जिल्ला कार्यसमितिले निर्वाचन अधिकृत तोकी विधी र नियमसंगत
नै निर्वाचन प्रकृया गरेको बताएका छन् ।
जिल्लाबाट प्रतिनिधित्व हुने ११ पदमा निर्वाचित भएका महासमिति सदस्यहरुमा खिलानाथ दाहाल, लीला बल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका, सर्वधन तामाङ, गोमा केसी, बाला अधिकारी, हरि दाहाल, कुमार श्रेष्ठ, हेमालक्ष्मी राई र होमबहादुर विक चयन
भएको नेपाली कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।
निर्वाचन प्रकृया विधी र पद्धतीअनुसार नभएको भन्दै महेश कुमार कोर्मोचा, कुमार लुइटेल, रुद्र प्रसाद अधिकारी, सबिता राई, अशोक कुमार कार्की, प्रकाश दाहाल, दुर्गा कुमारी तामाङ र अर्चना लुइटेल सहित ८ जनाले उजुरी दिइएको बताएका छन् ।