दुधे बच्चालाई पालनपोषण गर्नकै लागी गिट्टी कुट्दै, एक आमा


झगनखबर 

 असार १२ । बिहान उठ्ने वितिकै दुईवटा बच्चा च्यापेर घरमाथीको सडको डिलमा बसेर ठुलठुला ढुंगालाई घनले फोरेर मसिना गिट्टी बनाउनु सुनिताको दैनिकी नै बनेको छ । दुइवटा बच्चा, ठुली छोरी ३ वर्षकी भईन्, सानी छोरी १८ महिनाकी भईन् । हेर्दा उत्रै देखिने दुइवटा छोरी काखको दुईपटी राखेर गिट्टी कुट्नु दिनचर्या बनेको छ, ‘सुनिता बयलकोटीको ।

 सिद्धिचरण नगरपालिका वडा नं ५, बर्णालु बिशंखेटोल निवासी २६ वर्षीय सुनिता बयलकोटीको श्रीमान दुइ छोरी गरी जम्मा ४ जनाको परिवार छन् । उहाँहरुको नाममा कुनै जग्गाजमिन छैन । लगभग २ आना जतिमा बनेको ढुंगामाटाको घर, जहाँ घरमात्रै छ, वरिपरी अरुको नै जग्गा छ, यताउता गर्न पनि कठिन हुन्छ । श्रीमान दिपक बयलकोटी विहान उठेर मेलापातको काम खोज्न निस्कनुहुन्छ । गाउँमा मेलापातको काम पाए गर्नुहुन्छ, नपाए त्यतिकै फर्कनुहुन्छ । मेलापातको काम पाउँदा दैनिक ज्याला बापत १ हजार कमाउनुहुन्छ । नपाउँदा त्यतिकै बस्नुपर्छ । घरमा आवश्यक पर्ने सबै खाद्यन्न खरिद गर्नुपर्छ । आफैले खेती गर्न आफ्नो भनेको एक चप्परी पनि जग्गा छैन ।

 ‘अरुको कमाउन पनि वरिपरी जग्गा पाइएन टाढा जान पनि साना बच्चा भएकाले आउन जान संभव भएन । अरुको मेलापातको काम गर्न जान पनि बच्चाको रेखदेख गर्ने कोही पनि छैनन् । बच्चा भएको महिलालाई मेलापातमा पनि कसैले नबोलाउने गरेको गुनासो गर्नुहुन्छ, बयलकोटी ।

बरु जसो तसो घर नजिकै छोरीहरु च्यापेरै भएपनि गिट्टी कुट्ने काम सम्भव भएकाले गिट्टी कुटेर गुजारा गरिरहेको बयालकोटी बताउनु हुन्छ । काखको दुवैपट्टी दुवै बच्चा च्यापेर सडकको तातो घाममा गिटी कुट्नु सजिलो त छैन तर पनि आफुलाई खाने लाउने दुइवटी छोरीलाई खुवाउनको लागी अरु केहि उपाय नभएपछि घाम र पानीको कुनै प्रवाह छैन, सनिता बयलकोटीलाई । उहाँ खोलामा गएर आफै ट्रयाक्टरमा ढुङ्गा लोड गर्नुहुन्छ र ल्याएर आफै अनलोड गर्नुहुन्छ । आफैले लोड गरेर ल्याउदा र आफैले अनलोड गर्दा ट्रयाक्टरले २ हजार भाडा लिने गरेको छ । १ ट्रयाक्टर ढुङ्गालाई सानो बनाएर गिटी बनाउनलाई दुई महिना लाग्छ । १ ट्रयाक्टर गिटीको रु ७ हजारमा बेच्ने गरेको बताउनु हुन्छ । त्यही ७ हजारले आफ्नो परिवारको समस्या जासोतसो धान्ने गरेको बताउनु भयो । आफुले तयार पारेको गिटी त्यही ट्रयाक्टर वालाले लगीदिने गरेकाले गिटी बेच्न चाँही समस्या नभएको बताउनु हुन्छ ।

उहाँका ३ जना देवरहरु हुनुहुन्छ सबै जनाको विवाहा भइसकेको छ । उहाँहरु पनि छुट्टिएर आआफ्नै काम गरिरहेका छन् । सासुआमा हुनुहुन्छ उहाँ अर्कै भाई सँग बस्नु भएको छ । ससुरा डम्बर बहादुर बितेको धेरै वर्ष भईसक्यो । बुढा ससुरा (ससुराको बुवा) को नाममा भएको जम्मा  २ रोपनी जग्गा अंशबण्डा भएको छैन । ससुराहरु  (ससुराका दाजुभाई) ३ जना  हुनुहुन्छ । २ रोपनी जग्गा ३ जना ससुराहरुलाई भाग लाउदा आफ्नो सासुको नाममा आउने एक भाग अंशबाट आफ्नो श्रीमान र   देवरहरु र सासुआमालाई भाग लाउदा केहि जग्गा आफ्नो श्रीमानको नामा पनि आउने आशामा हुनहुन्छ । उहाँले भन्नुभयो; ‘अंशबण्डा भए त हाम्रो नाममा पनि अलिकति जग्गा त आउथ्यो होला ! तर ससुराको नाममै जग्गा आएको छैन, हाम्रो नाममा त के आउथ्यो होला र ।

बच्चाहरुलाई खुवाउनकै लागी संघर्ष गरिरहेकी सुनिता, कहिले काँही बच्चा बिरामी हुँदा पैसा अभावका कारण समयमा उपचार गर्न नसकेको अनुभव गहभरी आँशु पादै सुनाउनु भयो । अस्ति सानी छोरी सुदिक्षा विरामी भईन,अस्पताल लाँदाको भाडा अहिले सम्म पनि तिर्न सकेको छैन ।

खोटाङ्ग माइती भएकी सुनिता १० कक्षा सम्म अध्ययन गर्नुभएको छ । एसएलसी परिक्षामा फेल भएपछि आर्थीक अभावका कारण फेरी चान्स  परिक्षा दिन नसकेकाले पढाई त्यत्तिकै छोड्नु परेको तितो अनुभव सुनाउनु भयो । ४ वर्ष अगाडी २२ वर्षको उमेरमा  बर्णालु बिशंखेटोलमा विवाह गरेर आएकी सुनिताका ४ वर्षकै अवधीमा ठुली सुदिपा ३ वर्ष र कान्छी सुदिक्षा १८ महिनाकी दुइ छोरीकी आमा भईसक्नु भएको छ । तिनै छोरीहरुलाई लालनपालनका लागी तातो घाममा सडक छेउमा दुइछोरी सहित  बसेर गिटी कुट्दै आफ्ना दिनचर्याहरु बिताईरहनु भएको छ ।  

प्रतिक्रिया