जिल्ला समन्वय समिति ओखलढुगाको उपनिर्वाचन, कांग्रेसको उम्मेदवारमा भट्टराई सर्वसहमत चयन


 कातिक २८ । जिल्ला समन्वय समिति ओखलढुगाको उपनिर्वाचनका लागि नेपाली कांगे्रस ओखलढुंगाले सर्वसहमत उम्मेदवार चयन गरेको छ । नेपाली कांगे्रसका पुराना नेता, पूर्व जिल्ला पार्टी सचिव, महाधिबेशन प्रतिनिधी टेकराज  भट्टराई लाई सर्वसहमत उम्मेदवार बनाएको हो । ओखलढुंगामा नेपाली कांग्रेस तर्फको बहुमत भएकाले भट्टराई जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा निर्विरोध निर्वाचीत हुनेछन् ।

नेपाली कांग्रेसमा टेकराज भट्टराई, पार्टी जिल्ला सचिव अजय लुइटेल र दलित संघका जिल्ला अध्यक्ष होम बहादुर बि.कको पनि दावी रहेको थियो । निर्वाचन नजिकीदै गर्दा जिल्ला पार्टी सभाति तेजन खनाल ( तेजेन्द्र) को पहलमा सर्वसहमति चयन गरिएको बताएका छन् । २७ गते विहान पार्टी सभापति तेजन खनाल र उम्मेदवारहरु बसेर सर्वसहमति गरी भट्टराईको एकल उम्मेदवार प्रदेश कार्यसमितिमा सिफारीश गरिएको सभापति खनालले बताउनु भयो । आकांक्षीहरु प्रति तिक्तता बढ्ने र संगठनमा प्रत्यक्ष असर पर्ने भएकाले उम्मेदवारहरुलाई एकैठाउँमा राखेर आपसी छलफल गरी सर्वसहमत उम्मेदवारको चयन गरिएको सभापति खनालले बताउनु भयो । 

जिल्ला पार्टीको पदधिकारी भएकोले पार्टी संगठनको जिम्मेवारी बहन गर्न र आगामी दिनमा पार्टीलाई चुस्तदुरुस्त कायम राख्दै दर्बिलो संगठन निर्माणका लागि टेकराज भट्टराईलाई सहयोग गरेको, उम्मेदवारका आकाङक्षी जिल्ला पार्टी सचिव अजय लुइटेलले बताउनु भयो । पार्टीमा सहयोग सद्भाव कायम राख्दै पुराना नेता टेकराज भट्टराई लाई नै समर्थन गरी सहयोग गरेको अर्काे उम्मेदवारका आकाङक्षी दलित संघका जिल्ला अध्यक्ष होम बहादुर बिश्वकर्माले बताउनु भयो ।    

ओखलढुंगा जिल्लामा नेपाली कांग्रेसको एकल बहुमत रहेको छ । २०७४ साल देखि निरन्तर एकलौटी जिल्ला समन्वय समिति नेपाली कांग्रेसले गठन गर्दै आएको छ । ०७९ को चुनावमा पनि नेपाली कांग्रेसको तर्फबाट डिल्लीराम खनाल समन्वय प्रमुख हुनुहुन्थ्यो । खनालको २०८० साल असोज १३ गते बेलुका शिक्षण अस्पताल काठमाण्डौमा क्यान्सरका कारण  मृत्यु भएपछि जिल्ला समन्वय समितिको प्रमुख पद खाली भएको थियो । समन्वय प्रमुख खनालको मृत्यु भएपछि उपप्रमुख तारादेवी कार्कीले कार्यभार संहाल्दै आउनु भएको थियो ।

जिल्लामा भएका ८ वटा स्थानिय तहको १६ मत मध्ये नेपाली कांग्रेसको ९ मत, नेकपा एमालेको ५ मत, माओबादी केन्द्रको १ मत र जनता समाजबादी पार्टी नेपालको १ मत गरी जम्मा १६ मत रहेको छ ।

प्रतिक्रिया