विपद्जन्य घटनाका पीडितलाई राहतस्वरुप ५० लाख दिने काँग्रेसको निर्णय


असोज १३ । नेपाली कांग्रेसले ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रिय सम्पादन समितिको बैठकले निर्णय गरेको बताएका छन् । बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले निरन्तर वर्षाका कारणले ठुलो जनधनको क्षति भएको र पीडितहरुलाई राहत एवं उद्धारका लागि ५० लाख रुपैया विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले ५० लाखमा सहयोग गर्न काँग्रेस सांसदहरुले १५ दिनको तलव उपलब्ध गराउने पनि निर्णय भएको बताउनु भयो । उहाँले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरुको खोजि तिब्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गर्नु भएको छ । पार्टीको भ्रातृ, शुभेच्छुक संगठन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ । दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरुमा भएको क्षतिको यथार्थ मूल्यांकन गरी चाँडो भन्दा चाँडो सुचारु गर्न जोड दिएको छ । विषम परिस्थितिमा कालोबजारी हुनसक्ने, सवारी साधनमा हुनसक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीर रुपमा व्यवस्थापन गर्न सरकारसँग माग समेत गरेको छ ।

काँग्रेसले राष्ट्रिय विपत्तिमा समग्र पार्टीहरु, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन आह्वान गरेको छ । एक महिने संगठन परिचालन कोजाग्रत पूर्णिमासम्म स्थगन गरिएको पनि प्रवक्ता महतले जानकारी दिनुभयो । उहाँले संगठन परिचालन स्थगन गरी विपद् खोजि तथा उद्धार कार्यमा लाग्न पार्टीले निर्देशन दिएको बताउनु भयो । कोजाग्रत पूर्णिमामा गर्ने चियापान कार्यक्रम यस वर्षका लागि नगर्ने निर्णय भएको बताउनु भयो ।

प्रतिक्रिया