कातिक
४ । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी
(रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत
कास्कीले अनुमति दिएको छ। शुक्रबार पक्राउ
परेका सभापति लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो।
अदालतका
न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न
अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो।
गत
शुक्रबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले केन्द्रीय पार्टी कार्यालयबाटै पक्राउ गरी
पोखरा लगेको थियो। संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको रकम लामिछाने
पहिले प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएकोले कारबाही सिफारिस
गरेको थियो। हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले लामीछानेलाई आइतबार जिल्ला
अदालत कास्कीमा उपस्थित गराएको थियो।
अदालतमा पेश गर्नुअघि पोखराको सहिदचोकमा ठूलो
संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा
भएका थिए ।
जिल्ला
प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा
अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने
क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको
फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।