झगनखबर
बैशाख १३ । नेपाल र कतारबीच द्विपक्षीय
लगानी र सहकार्यसम्बन्धी विभिन्न आठ विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका
अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन बुधबार
सम्झौता तथा समझदारी भएको हो ।
नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारको तर्फबाट अमिर तमिम सहितको प्रतिनिधि मण्डलबीच भएको
द्विपक्षीय वार्तापछि नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा एक सरकारी, एक निजी सम्झौता र ६ समझदारी भएका हुन्
।
दुई देशबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य
क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएका छन् ।
नेपाल-कतार बीचमा भएका सम्झौताहरू
१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र
कतार राज्यको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि
समझदारी पत्र
२. राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्युएनए) बीच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता
३. नेपाल सरकार र कतार राज्यको सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयु)
४. नेपाल सरकार र कतार राज्यको
सरकारबीच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र
५. नेपालको महान्यायाधिवक्ताको
कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबीच सहयोगका लागि समझदारी पत्र
६. नेपाल सरकारको परराष्ट्र मामिला
अध्ययन संस्थान (आइएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच
कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र
७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य
महासंघबीच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्नेसम्बन्धी सम्झौता
८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य
महासंघबीच भएको समझदारी पत्रको नवीकरण
कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार अपराहृन स्वदेश फर्किनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ व्यक्तिहरूले तमिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गर्नुभएको थियो ।