पुस २५ ।
जिल्लामा एचआइभी संक्रमित भएकाप्रति समाजको
सकारात्मक सोच बनाउन तीनबुँदे प्रतिबद्धता जारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले बिहीबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा तीनबुँदे प्रतिबद्धता
जारी गरिएको हो । अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले एचआइभी संक्रमितलाई पनि अन्य
रोगीसरह उपचार, माया, सम्मान र सहयोगको वातावरण निर्माण गर्नुपर्नेमा
जोड दिएका छन् । तीनबुँदे प्रतिबद्धता यसप्रकार
छ ।
१.एच.आई.भि
संक्रमित ब्यक्तिहरुलाई घर/परिवार/समजा/समुदायमा घृणा होइन माया गरिनु पर्ने ।
२. संक्रमित
भएकै कारण कुनै पनि ब्यक्तिमा लाञ्छना र भेदभाव गरिनु नहुने । र
३. शिक्षा, स्वास्थ्य,
सुरक्षा लगायत कुनै पनि क्षेत्रमा प्राथमिक्तामा राखिनु पर्ने ।
तीनबुँदे
प्रतिबद्धता पत्रमा कार्यक्रममा उपस्थित जनप्रतिनिधी, प्रहरी, पत्रकार
कर्मचारी लगायतले हस्ताक्षर गरी प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा
रुम्जाटार अस्पतालकी खोप फोकल पर्सन उमा गुरुङले एचआइभी रोग, सर्ने
माध्यम, बच्ने उपाय,
संक्रमितले अपनाउनुपर्ने स्वास्थ्य
सावधानी तथा परिवार, समुदाय र सरोकारवालाको भूमिकाबारे
प्रस्तुतीकरणमार्फत जानकारी गराउनु भएको थियो ।
स्वास्थ्य कार्यालय रुम्जाटारकी प्रमुख मनिषा मोक्तान तामाङले एचआइभी
संक्रमितलाई पनि अन्य बिरामीजस्तै माया, हेरचाह र सम्मानका साथ उपचार तथा रेखदेख
गर्नुपर्ने बताउनु भयो ।
एचआइभी असुरक्षित यौन सम्पर्कबाट मात्र नभई रगत, सिरिन्ज, गर्भधारण तथा अंग प्रत्यारोपणबाट पनि सर्न सक्ने भएकाले संक्रमितलाई सकारात्मक दृष्टिकोणले सहयोग गर्न समाज सचेत हुनुपर्नेमा सबैले जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईले, एचआइभी न्युनीकरण र निर्मुलीकरणका लागि राज्यले विशेष कार्यक्रम मार्फत समाजमा सचेतना फैलाउनु पर्ने बताउनु भयो । समाजमा एचआइभी संक्रमीत भएका ब्यक्तिहरुले पनि लाज नमानीकन औषधी खोजेर नियमित सेवन गर्नुपर्ने बताउनु भयो । कार्यक्रमका सहभागीहरुले एचआईभी पनि अरु रोग जस्तै रोग भएकाले समाजमा लुकाउनु नहुने र संक्रमीत नागरिकलाई अरु नागरिक सरह ब्यवहार नगर्नेलाई कारवाहिको ब्यवस्था गरिनु पर्ने बताएका थिए । जिल्लामा हाल २० जना एचआइभी संक्रमितले एआरटी शाखाबाट नियमित उपचार सेवा लिइरहेको शाखा प्रमुख कुमार प्रसाद दाहालले जानकारी दिनुभयो । जसमध्ये १४ जना ओखलढुंगाका नागरिक भएको र अरु सोलुखुम्बु र खोटाङका नागरिक भएको पनि दाहालले जानकारी दिनु भएको छ । संक्रमित भएका नागरिकहरूले समस्या बिना सहज औषधि र उपचार पाइरहेको एआरटी शाखाले जनाएको छ ।