राजकुमार कार्की
कातिक २९ । ओखलढुंगा जिल्लामा शिवलिङ्ग आकारको अजंगको दुर्लभ पहाड रहेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ४ स्थित शिवलिङ्ग आकारको अजंगको पहाड प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । कालीगढले मिहेनत गरेर बनाएको शिवलिङ्ग भन्दा फरक नदेखिने दुई ठुला पहाडको बिचमा छुट्टै एउटा शिवलिङ्ग आकारको पहाड रहेको छ । दुईतर्फी झरना सहितको खोलाले काटेको भाग एकातर्फी आँफै भिरालो र अर्काेतर्फ अर्काे ठुलो पहाडमा काटिएर टाँसिएको पहाड रहेको छ । चारै दिशाबाट हेर्दा शिव लिङ्ग आकारको देखिन्छ ।

‘यो विश्वकै दूर्लभ शिवलिङ्ग हो, हामीले थाहा पाउँदा यो यस्तै पहाड थियो, यो भगवानकै पालादेखि शिवको बास भएको हुनुपर्दछ’ बयोबृद्ध रुद्र बहादुर कार्कीले बताउनु भयो । उहाँका अनुसार ः यो शिवलिङ्ग भन्दा केहि माथीको भागमा ढुंगाको पहराबाट पानी निस्कीएको छ । त्यहा कुनै माटो भएको ठाउँ देखिदैन तर ठुलो पानीको पलाएको छ । जस्तोसुकै गर्मीको समयमा पनि फ्रीजमा राखे बराबरको चिसो पानी हुन्छ । उक्त पानी शिवलिङ्गको पश्चिम भेगबाट नजिकैबाट बग्दै शिवलिङ्गको फेदसम्म आइपुग्दा साना ठुला गरेर ९ वटा भन्दा बढी झरनाहरु रहेका छन् । शिवलिङ्गको पूर्व र पश्चिम तर्फबाट बग्ने दुवै खोला शिवलिङ्गको फेद भागमा आएर मिसिएका छन् । दुवै खोलाको पानी गर्मी समयमा पनि अति चिसो भईरहने गरेको छ । ९० सालको महाभुकम्पमा ठुला–ठुला पहाड फुटेर झरे, पहिरो गयो तर उक्त चिल्लो पहाडमा एउटा सामान्य ढुंगा पनि हल्लिएन । ७२ सालको भुकम्पमा पनि त्यहाँ कुनै केहि असर नगरेको कार्कीले बताउनु भयो ।


त्यहाँ घाँस दाउरा लिएर मान्छेहरु आवतजावत गर्ने गरेका थिए । त्यहाँ हिड्दा जमिन हल्लीएको जस्तो आभास हुने, जमिन थर्किएको जस्तो
हुने गरेको बुढापाकाहरुले बताएका छन् । त्यहा मान्छेहरु पुग्दा खुट्टा कापेको जस्तो
हुने,
लडिन्छ की भन्ने मनमा
डर आउने,
मनमा फरक खालको अनुभव
हुने गरेको प्रत्यक्ष पहाडमा गएर आएका मान्छेहरु बताउछन् । थुम्कीमा केहि साना रुख विरुवाहरु भएपनि समग्र
भाग भने खाली छ (कुनै बोटविरुवा छैनन्) । पहिला पहिला बाख्रा चरणका लागि जंगल
लैजाने चलन थियो । विशेष गरी चैत बैशाखको सुख्खा समयमा उक्त शिवलिङ्गको दाँया
बायाको खोलामा चरणका लागि बाख्रा लैजाने गर्दथे । बाख्राहरु उक्त शिवलिङ्गको
पहाडमा गए भने कुनै न कुनै बाख्राहरु हराउने र खोजी गर्दा पछि बाघले खाएको
अवस्थामा भेटिने गरेका थिए । बाख्रा हराएको दिन कहिल्यै पनि नभेटीने दुइ तीन दिन
पछि मात्र भेटीने तर जंगली जनावरले खाएर बाँकी रहेको केहि भाग मात्र भेटीने
गर्दथ्यो । यसरी त्यो ठाउँमा बाख्रा चरणका लागि लिएर जाँदा थुप्रै बाख्राहरु
हराएका र पछि खोजी गर्दा कुनै जानावरले खाएको अवस्थामा भेटीने गरेपछि किसानहरुले
बाख्रा चरणका लागि उक्त ठाउँमा लैजान छोडेका थिए ।
उक्त ठाउँमा चरणका
लागि बाख्रा जाँदा प्रत्येक समय हराउने गरेको र सबै बाख्रा फर्काएर ल्याएको दिन
राती कसै न कसैको खोरमा बाघ आएर बाख्रा मारेको स्थानिय लाल बहादुर कार्कीले बताउनु
भयो । त्यो समयमा एक जनाको खोरमा ५ देखि ७ वटा सम्म बाख्रा बाघले मारेको कार्कीले
सम्झनु भयो । तर त्यो ठाउँ भन्दा बाहेकको जंगलमा चरणमा लैजादा बाख्राहरु सकुशल घर
फर्कीने गर्दथे ।
उक्त ठाउँमा कुनै
शक्तिको बास भएकाले त्यसरी बाख्राहरु चरणका लागि जाँदा हराउने गरेको बुढापाकाले
बताउने गरेका छन् । मध्यान्ह दिउँसो वा रातको समयमा विभिन्न खालको चिन्न र
छुट्याउन नसकीने आवज आउने गरेको पनि स्थानियबासीले बताएका छन् ।
यहाँको प्राकृतिक बनावट हेर्दा कुनै भगवान वा देवीदेवताको बास रहेको हुन सक्ने बुढापाकाहरुको भनाई छ । सुख्खा ढुंगाको पहराबाट छङ्गछङ्ग पानी आउनु, बाह्रै महिना पानीको मुहान नसुक्नु, एउटै खोलामा छोटो–छोटो दुरीमा साना ठुला झरना नै झरना हुनु, शिवलिङ्ग आकारको पहाडमा बोटविरुवा नभई सधै चिल्लो देखिनुले गर्दा अदृश्य शक्ति भएकोमा शंका नभएको बताउने गरेका छन् । त्यो ठाउँमा एकैछिनमा घाम लाग्ने, एकैछिनमा कुहिरो आउने, पानी नपरेको बेला मध्ये दिउँसो पनि कुहिरो आउने, छिन–छिनमै मौसम परिवर्तन हुने गरेको छ ।


उक्त शिवलिङ्गको वरीपरी भएका जंगलमा विभिन्न
जातका मनै लोभ्याउने फुलहरु फुल्ने गर्दछन् । चराचुरुङ्गी, मयुर, कालीज, तिथ्रा, जुरेली, हुचिल, चिल, सिकारी, काग, न्याउली, बेहुली चरी, लाटोकोसेरो, चिवे, फिस्टो, पाखेआँेत लागायतका
डेढ दर्जन बढी जातका चराचुरुङ्गी पाउने गरेका छन् । जंगली जनावरहरु, बाघ, चितुवा, मृग, घोरल, बाँदर, ढेडु, गोहोरो, सालक, दुम्सी लगायतका
जीवजनावरहरु यत्रतत्र हेर्न र देख्न पाइन्छ ।