माघ २ । निर्वाचन आयोगले गगन थापालाई नेपाली
कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१
बमोजिम दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको पक्षलाई आधिकारिक
मान्यता दिने निर्णय गरेको हो।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त जानकी तुलाधारले थापा पक्षलाई मान्यता दिने
निर्णयमा समर्थन गरेका छन् भने आयुक्त सगुनशमशेर राणाले फरक मत राख्नुभएको छ ।
पुस २७ देखि ३० गतेसम्म भिर्कुटीमण्डप
काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनले गगन
थापालाई नेपाली कांग्रेसको सभापतिमा
निर्वाचित गरेको थियो । विशेष
महाधिवेशनबाट सभापति थापासहित नवनिर्वाचित पदाधिकारीहरूले बिहीबार आयोगमा दलको
विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए।
यसअघि पूर्णबहादुर खड्का पक्षका नेताहरूले
पनि आफूहरू नै आधिकारिक भएको दाबी गर्दै शुक्रबार बिहान आयोगमा निवेदन दिएका छन् ।
दुवै पक्षबाट दाबी आएपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई छलफलका लागि बोलाएको
थियो।
दुवै पक्षको दाबी र पेश भएका कागजातको
अध्ययनपछि निर्वाचन आयोगले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिक नेपाली कांग्रेसको
मान्यता दिएको हो। यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डाको
अधिकार पनि गगन थापा पक्षकै रहने भएको छ