श्रृंखलाबद्ध हत्याका घटनाले जिल्लाबासीमा त्रास


राजकुमार कार्की

 माघ १४ । जिल्लामा घटिरहेको श्रुंखलाबद्ध हत्याका घटनाले जिल्ला बासीमा त्रास फैलिएको छ । करिब साँढे तीन महिनाको अन्तरालमा दुई दम्पति सहित ५ जनाको विभत्स हत्याले जिल्लाबासीमा त्रास फैलिएको हो  । छोटो समयमै नजिकै (वारीपारी) लुटपाट पश्चात गरिएको हत्याले नागरिकमा झन त्रास बढेको छ ।

असोज २६ गते राती सिद्धिचरण नगरपालिका–४, चार्खुमा एकल महिला ५२ वर्षीय रत्नकुमारी कटवाल (कार्की) को लुटपाट पश्चात हत्या गरिएको थियो । त्यसको ३ महिना १७ दिनमा अरु दुई दम्पतिको घरमा लुटपाट पश्चात हत्या गरिएको छ । पुस १५ गते राती चिशंखुगढी गाउँपालिका–६, भदौरे गैरी गाउँमा ६० वर्षीय सोवितमान थापा मगर र उहाँकी श्रीमति ६० वर्षीय रत्न माया थापा मगरको लुटपाट पश्चात विभत्स हत्या भएको थियो । मगर दम्पतिको हत्या भएको १ महिना पनि बित्न नपाउँदै सोई ठाउँ चिशंखुगढी गाउँपालिका–६, भदौरेमै अर्का राई दम्पतिको लुटपाट पश्चात हत्या गरिएको छ । भदौरे बोहोरेटोलका ८१ वर्षीय चन्द्रविक्रम राई र उहाँकी श्रीमति ८० वर्षीय चन्द्रमाया राईको सोमबार राती विभत्स हत्या गरिएको थियो । घट्नाको विषयमा प्रहरीले कुकुरको प्रयोग मार्फत अनुसन्धान गरिरहेको छ । राई दम्पतिको शव  आवश्यक कानूनी प्रकृया पुरा गरी परिक्षणका लागि पठाउने तयारी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

हत्या गरिएकी चार्खुकी एकल महिला खेतिकिसानी गरेर एक्लै घरमा बस्दै आउनु भएको थियो । भदौरेका मगर दम्पति पनि शोभितमान किराना पसल सन्चालन गर्दै आएका थिए ।  छोराबुहारी काठमाण्र्डा बस्दै आएका थिए भने छोरीहरुको विवाह भइसकेकाले घरमा बृद्ध दम्पतिमात्रै बस्दै आएका थिए । त्यसै गरी सोमबार राती हत्या गरिएका राइ दम्पतिका पनि कान्छी श्रीमति सहित छोरीहरु काठमाण्डौमा बसेर अध्ययन गरिरहेका थिए । बृद्ध चन्द्रविक्रम राई जेठी श्रीमतिसँग घरमा सामान्य किराना पसल सन्चालन गरेर बसेका थिए ।

 घट्ना लाई हेर्दा गाउँमा बसेका एकल महिला र आम्दानीका श्रोत भएका बृद्ध नागरिकलाई निशाना बनाएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, चार्खुमा हत्या गरिएको एकल महिलाबाट नगद र सुनका गहना समेत लुटेर लगेका थिए । भदौरेमा हत्या गरिएका मगर दम्पतिबाट पनि १ लाख नगद सहित काँचो २ तोला समेत गरी जम्मा ६ तोला सुन लुटिएको थियो । त्यसैगरी भदौरेकै अर्काे घट्नामा पनि हत्याको प्रकृति एउटै भएको र कानमा लगाएको गहना समेत लुटिएको प्रहरी नायव उपरिक्षक मदन केसीले बताउनु भयो । 

भदौरेमा मगर दम्पतिको हत्या पश्चात चार्खु हत्या र भदौरे गैरी हत्याकाण्डमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । हत्यारोपमा, ओखलढुंगा जिल्ला चिशंखुगढी–३ दियालेका २८ वर्षीय मिलन भन्ने संगम राई र चिशंखुगढी–४, रातमाटेका ३० वर्षीय विनोद राईलाई पुस १८ गते पक्राउ गरेको छ । त्यसैगरी रातमाटेकै ३० वर्षीय प्रकाश भुजेल र चिशंखुगढी–८, माम्खाका ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेललाई पुस १९ गते पक्राउ गरिएको थियो । चारैजनाले हत्यामा संलग्न भएको स्वीकार गरेको प्रहरीले बताएको छ । घट्नामा संलग्न आरोपीहरु बाट, चार्खु हत्यामा प्रयोग भएको बन्चरो १ थान, मृतक रत्न कुमारी कटवालबाट लुटिएको सुन गालेर बनाएको ५.८० ग्राम भएको रिङ १ थान, दाप सहितको खुकुरी १ थान, र भदौरे गैरीगाउँबाट लुटिएको रु १०० को रिचार्ज कार्ड (विनोद राईको खल्तिमा), भरुवा बन्दुक २ नाल, मोबाईल ४ थान प्रतिबादीहरुको साथबाट बरामत गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

लुटपाट र हत्याका घट्नाले गाउँघरका नागरिकलाई त्रास मात्र फैलिएको छैन, यस्तै अवस्था हो भने गाउँमा बसेर नोकरी गर्न समेत कठिन हुने र नोकरी छोड्नु पर्ने सम्मको अवस्था सिर्जना हुने शिक्षक युवराज राईले बताउनु भयो ।

निरन्तर घटेका हत्याका घट्नाले नागरिकलाई त्रास फैलाएको छ र नागरिकको शान्तिसुरक्षाको लागि जिल्लास्थित ३ वटै सुरक्षा युनिटलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातीले बताउनु भयो ।

प्रतिक्रिया