प्रजातन्त्रको ७४ वर्षमा ४८ पटक, लोकतन्त्रको १८ वर्षमा १५ पटक सरकार फेरियो, जनताको अवस्था फेरिएन


राजकुमार कार्की

 फागुन  ७   । नेपालमा पटकपटक राजनीतिक परिवर्तन भईरहेका छन् । एकतन्त्रीय राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भयो । ०१५ सालमा भएको देशको पहिलो आमनिर्वाचनमा जनताले पहिलोपटक मतदान गरी बनेको विश्वेश्वर प्रसाद कोइराला नेतृत्वको सरकारलाई अपदस्त गरी २०१७ सालमा राजा महेन्द्रले शासन सत्ता हातमा लिएका थिए । प्रजातन्त्र प्राप्तिको करिब १० वर्ष, आमनिर्वाचनबाट निर्वाचित जनप्रनिधीको शासन कालको करिब १ वर्ष नबित्दै राजा महेन्द्रले राजाको शासन अर्थात पञ्चायती व्यवस्थाको घोषणा गरेका थिए । राजाको शासन काल (पञ्चायती व्यवस्था) को करिब २९ वर्ष पश्चात २०४६ सालमा बहुदलीय व्यवस्था घोषणा भयो । प्रत्यक्ष राजाको शासनको अन्त्य भयो ।  बहुदलीय व्यवस्थाको १७ वर्ष अर्थात २०६३ सालमा लोकतन्त्रको घोषणा भयो । २४० वर्षे राजाको शासन अन्त्य भयो । ०४६ सालको परिवर्तन पश्चात २०४८ सालमा निर्वाचन भयो । जनताले चुनेका जनप्रतिनधीहरुले शासन व्यवस्था सन्चालन गर्न थाले । यो पटक जनप्रतिनिधीले शासन सत्ता सन्चालन गरेको करिब १५ वर्षमा  अर्काे शासन व्यवस्था परिवर्तन भयो । अहिले नेपाल लोकतान्त्रीक शासन व्यवस्था अन्तर्गत सन्चालित छ ।

२००७ सालमा राणाशासनको अन्त्य पश्चात नेपालको अन्तरिम शासन विधान २००७ को घोषणा भयो । यो नै नेपालको पहिलो शासन विधान हो । प्रजातन्त्रको पुनःस्र्थापना तथा बहुदलीय ब्यवस्थाको घोषणा पश्चात २०४७ सालमा नेपाल अधिराज्यको संविधान २०४७ घोषणा भयो । २०६३ सालमा नेपालको अन्तरिम संविधान २०६३ घोषणा भयो । २०४७ सालमा नेपाल अधिराज्यको संविधान घोषणा भएको करिब १६ वर्षमा नेपालको अन्तरिम संविधान २०६३ घोषणा भएको थियो । २०६४ सालमा संविधान निर्माणका लागि संविधासभा सदस्यको निर्वाचन भयो । संविधान सभा सदस्यको पहिलो निर्वाचन २०६४ मा  निर्वाचित जनप्रतिनिधीले संविधान निर्माण गर्न सकेनन । पुनःदोश्रोपटक २०७० सालमा संविधान सभा सदस्य दोश्रो निर्वाचन भयो । दोश्रो पटक भएको संविधान सभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुले संविधान निर्माण गरे । २०७२ सालमा नेपालको संविधान २०७२ घोषणा भयो । अहिले नेपाल, ‘नेपालको संविधान २०७२ अनुसार लोकतान्त्रीक शासन व्यवस्था अन्तर्गत सञ्चालीत छ ।

नेपालमा २००७ साल फागुन ७ गते  प्रजातन्त्र घोषणा भयो । प्रजातन्त्र घोषणा भएको संझनामा प्रत्येक वर्षको  फागुन ७ गते  प्रजातन्त्र दिवस मनाउने गरिएको छ । नेपाल सरकारले प्रजातन्त्र दिवसमा देशैभरी सार्वजनिक विदा दिँदै आएको छ । प्रजातन्त्र प्राप्त भएको करिब ७४ वर्ष भएको छ ।  ७४ वर्षमा ४८ पटक सरकार परिवर्तन भएको छ । २००७ फागुन ७ गते बनेको मोहन सम्शेर ज.ब.रा.को अन्तरिम मन्त्री मण्डललाई समेत गणना गर्ने हो भने ४९ पटक मन्त्रिपण्डल गठन भएको छ । ०७ साल पछाडी २००८ सालमा मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएको बेला देखि २०८१ सालमा केपी ओलीको सरकार सम्म आइपुग्दा ४८ पटक सरकार परिवर्तन भएको छ । निर्वाचित बहुमतको सरकारले ५ वर्ष सम्म सरकार सन्चालन गर्न पाउने व्यवस्था संविधानले गरेको छ । संविधानले गरेको व्यवस्था अनुसार सरकार परिवर्तन हुने हो भने अहिले सम्म १४ वटा मात्रै सरकार बन्ने थिए ।

लोकतन्त्रको १८ वर्षमा १५ सरकार

२०६३ सालमा नेपालमा लोकतन्त्रको घोषणा भयो । लोकतन्त्रको घोषणापश्चात गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । गिरिजा प्रसाद कोइरालको नेतृत्वमा भएको अन्तरिम सरकारले २०६४ सालमा संविधान सभाको निर्वाचन गरेको थियो । उक्त निर्वाचन पश्चात २०६५ मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । गिरिजा प्रसाद कोइरालको नेतृत्वमा बनेको अन्तरिम सरकार देखि हाल केपी ओलीको सरकार सम्म आइपुग्दा १५ पटक सरकार परिवर्तन भएको छ ।

लोकतन्त्र पश्चात १५औँ पटकको सरकार सन्चालन भईरहदा सबैभन्दा बढी केपी ओलीले सरकारको नेतृत्व गर्नु भएको छ । अहिलेको सरकारको नेतृत्व ओलीको चौथो पटकको नेतृत्व हो ।

१. गिरिजा प्रसाद कोइराला १ पटक (अन्तरिम सरकार २०६३)

२. पुष्पकमल दाहाल प्रचण्ड ३ पटक ( २०६५,२०७३,२०७९)

३. शेर बहादुर देउवा २ पटक (२०७४, २०७८)

४. माधव कुमार नेपाल १ पटक (२०६६)

५. झनलानाथ खनाल १ पटक (२०६७)

६. डा. बाबुराम भट्टराई १ पटक २०६८)

७. खिलराज रेग्मी १ पटक (मन्त्रीपरिषद अध्यक्ष (२०६९)

८. सुशिल कोइराला १ पटक (२०७०)

९. केपी शर्मा ओली ४ पटक (२०७२,२०७४,२०७८, २०८१..)

नेपालमा यति धेरै राजनीतिक परिवर्तन भए, शासन सत्ता फेरिए तर जनताको अवस्था फेरिएन । जनता हिजोकै अवस्थामा गुज्रीरहेका छन् । न गुणस्तरिय शिक्षा छ, नत स्वास्थ्य नै । सामन्य रोजगारका लागि बिदेशीनु पर्ने बाध्यता छ । गाउँ र शहर दुइ भागमा विभक्त छ । शहरमा विकास भईरहेकै छ तर गाउँमा कहिल्यै विकास पुगेन । सोझासिधा जनताको बस्तीमा पुग्नुपर्ने विकास पुगेको छैन । हिजो जस्तै आजपनि उहि परम्परागत सामान्य जीवनगुजारा गर्ने खेति । न राम्रो उत्पादन हुन्छ, न उत्पादन भएको बिक्री हुन्छ ।

प्रतिक्रिया