सिद्धिचरणको निःशुल्क स्वास्थ्य शिविर पाँचसय बढीको मुटु परिक्षण


राजकुमार कार्की

 बैशाख १८ । सिद्धिचरण नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २७ जनाको मुटु परिक्षण गरिएको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा निःशुल्क मुटु परिक्षण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको हो ।  त्रि.वि. कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज काठमाण्डौको प्राविधिक सहयोग तथा जयन्ती स्मृति प्रतिष्ठान काठमाण्डौको समन्वयमा सिद्धिचरण नगरपालिकाले  शिविर सन्चालन गरेको छ । बैशाख १८ गते सामुदायिक अस्पताल मिसन सोब्रुमा  मुटु परिक्षण सम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो । नगरक्षेत्रभित्रका नागरिकलाई सहजरुपमा मुटुसम्बन्धी चेकजाँच र  उपचार गराउन शिविरको आयोजना गरेको नगर प्रमुख तेजेन्द्र खनालले बताउनु भयो । नागरिकलाई काठमाण्डौ गएर सहजरुपमा मुटु तथा अन्य रोगको परिक्षण र उपचार गर्न धेरै खर्च लाग्ने हुनाले निःशुल्क शिविरको आयोजना गरीएको मेयर खनालको भनाई छ ।

सुत्केरी गर्भवती महिला ८ जना, अपांगता भएका महिला २ जना गरी जम्मा २ सय ६७ जना महिला र अपांगता भएका पुरुष १ जना सहित २ सय ६० जना पुरुष गरी जम्मा ५ सय २७ जनाले सेवा लिएका छन् । सेवा लिएका नागरिक मध्ये १८ जनालाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ भने ५ सय ९ जनालाई सामान्य औषधी वितरण गरिएको छ । रिफर गरिएका मुटुरोगीलाई नगरपालिकाको सिफारीसमा प्राथमिक्ताका साथ सहुलियतमा उपचार गरिने भएको छ । करिब २ लाख ५० हजार रकम बराबरको औषधी निःशुल्क वितरण गरिएको छ । शिविरमा इको, इसिजी, ब्लडप्रेसर, सुगर जस्ता मुटुसँग सम्बन्धीत रोगको निःशुल्क परिक्षण गरिएको थियो ।

नगरक्षेत्रभित्रका नागरिक लगायत अन्य स्थानीय तहका नागरिकले समेत  शिविरमा सेवा लिएका थिए ।  बरिष्ठ मुटुरोग विशेषज्ञ  प्रा.डा. रत्नमणी गजुरेल, उप प्रा. डा. हेमन्त श्रेष्ठ, उप प्रा. डा. सञ्जीव थापा, उप प्रा. डा. राजाराम खनाल र उप प्रा. डा रवि कुमार बराल, डा. आशिष तिवारी, नर्स रोजिना पराजुली, नर्स दुर्गादेवी तामङ, सरोज खड्का, दिपक थापा मान बहादुर ऐरी, ज्ञानेन्द्र बहादुर बुढाऐर अनुप थापा सहितको टिमले स्वास्थ्य परिक्षण गरेको थियो । शिविर मार्फत विशेषज्ञबाट मुटु सम्बन्धी रोगको निःशुल्क परिक्षण र उपचार गर्न पाउँदा खुशी ब्यक्त गर्दै, उपचार गर्न आएका नागरिकले नगर प्रमुख खनाललाई धन्यबाद दिएका  छन् ।

  शिविरमा सेवा लिन र दिन आएका नागरिकलाई नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा ओखलढुंगाले निःशुल्क पिउने पानीको ब्यवस्था गरी शिविरलाई सहयोग गरेको छ ।  

प्रतिक्रिया