सिमाविद बुद्धीनारायणद्वारा स्वर्गीय मावली हजुरबा–हजुरआमाको शालिक निर्माण


समचार संक्षेप 

- अर्धकदको शालिक विहिबार औपचारीक कार्यक्रमको आयोजना गरी ओखलढुंगा सदरमुकामका बयोबृद्ध ब्यक्ति समाजसेवी भैरव बहादुर श्रेष्ठमार्फत अनावरण गरिएको छ ।

- गाउँघरमा धारा कुवा बनाउनबाटो निर्माण गर्नपाटीपौवा बनाउनविद्यालय भवन बनाउनवरपिपल रोप्न लगायतका सामाजिक काम गर्न सबैलाई आफ्नो गछ्येअनुसारको चन्दा रकम सहयोग गर्नुहुन्थ्यो । 
- राइटर हस्तबहादुरले २००७ सालको ओखलढुंगा क्रान्तिमा ज्यान गुमाउनु  भएको थियो ।

- उहाँले रामबजारमै धर्मशाला निर्माण गर्नुभएको थियो । त्यो धर्मशालामा आएका फकिरजोगीहरुलाई खानेबस्ने र सिदाको समेत ब्यवस्था गर्ने गर्नुहुन्थ्यो ।

राजकुमार कार्की

ओखलढुंगा कार्तिक ४ । नेपालका सिमाविद बुद्धीनारायण श्रेष्ठले मावली हजुरबाहजुरआमाको शालिक निर्माण गर्नुभएको छ । हजुरबुवा स्वर्गीय जगत बहादुर राजभण्डारी (माहिला साहु) हजुरआमा स्वर्गीय तुइलानी राजभण्डारीको अर्धकदको शालिक निर्माण गर्नु भएको हो । सिद्धिचरण नगरपालिका वडा नं ११ स्थित रामबजारमा अर्धकदको शालिक निर्माण गर्नुभएको छ । उक्त अर्धकदको शालिक विहिबार औपचारीक कार्यक्रमको आयोजना गरी ओखलढुंगा सदरमुकामका बयोबृद्ध ब्यक्ति समाजसेवी भैरव बहादुर श्रेष्ठमार्फत अनावरण गरिएको छ । सिद्धिचरण नगरप्रमुख तेजन खनाल, उपप्रमुख केदारबावु बस्नेत, प्रमुख जिल्ला अधिकारी मेख बहादुर मगराती लगायत सामाजिक ब्यत्तित्वहरुको उपस्थितिमा शालिकको अनावरण गरिएको छ ।

  ब्यापार सँगै समाजसेवामा लाग्नु भएका जगतबहादुरले पाटी बनाउने, धारा कुवा निर्माण गर्ने र सामाजिक कामका लागि आवश्यक रकम चन्दा दिने  गर्नुहुन्थ्यो । स्थानीयबासीका अनुसार त्यो बेलामा कुनै बैंक थिएन, पैसाको  आवश्यक परेका  नागरिक उहाँ सँगै रिण सापट लिएर आफ्नो गर्जाे टार्ने गरेको बताउछन् । त्यो बेलामा भारतीय लाहुुरे हरुले भारु पैसा ल्याउने तर गाउँघरमा राख्न नमान्ने भएकाले रकम साटपाट समेत गरेर नागरिकलाई सहयोग  गर्नुहुन्थ्यो । गाउँघरमा धारा कुवा बनाउन, बाटो निर्माण गर्न, पाटीपौवा बनाउन, विद्यालय भवन बनाउन, वरपिपल रोप्न लगायतका सामाजिक काम गर्न सबैलाई आफ्नो गछ्येअनुसारको चन्दा रकम सहयोग गर्नुहुन्थ्यो । भने आफु एक्लै पनि समाजमा यस्ता काम गर्न अग्रसर भई पाटीपौवा, धारा, कुवा बनाउनु भएको थियो । मराउ परेको घरमा वा विरामी भई उपचार गर्न नसक्ने परिवारहरुलाई आर्थीक सहयोग गर्ने गरेको स्थानीय छिमेकीहरुले बताएका छन् ।

काठमाण्डौ देखि भरिया लगाएर सामान ओखलढुंगा सम्म ल्याई होलसेल र खुद्रा विक्रिवितरण गर्नुहुन्थ्यो । लत्ताकपडादेखि खाद्यान्न लगायत सम्पुर्ण आवश्यकीय वस्तुहरुको आफुलाई थोरैनाफा राखेर  विक्रीवितरण गर्नुहुन्थ्यो । त्यो बेलामा भरिया मार्फत सामान ल्याउनु पर्ने हुन्थ्यो । उहाँले एकपटक दशै तिहारको बेलामा कम्तिमा पनि ४० देखि ५० जना भरियाको प्रयोग गरेर सामन ल्याएर बिक्रीवितरण गर्ने गरेको नाती बुद्धीनारायण श्रेष्ठले बताउनु भयो । आसपासका जिल्ला सोलु, खोटाङ, उदयपुर, सिन्धुली र रामेछाप सम्मका ब्यपारीले उहाँकैबाट सामग्री लगेर बेच्ने गरेको पनि नाति श्रेष्ठले बताउनु भयो ।

बुवा नरमान राजभण्डारी र आमा धनलक्ष्मी राजभण्डारीको कोखबाट बि.सं १९५८ सालमा जन्मनुभएका जगतबहादुरको ९६ वर्षको उमेरमा बि.सं २०५४ सालमा मृत्यु भएको थियो । त्यसैगरी बि.सं १९६२ सालमा जन्मनुभएकी श्रीमति तुईलानी राजभण्डारीको ७३ वर्षको उमेरमा २०३५ सालमा मृत्यु भएको थियो । तीन दाजुभाईमध्ये माइलो सन्तानको रुपमा जन्मनुभएकाले उहाँ माइलो साहुको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँले रामबजारमै धर्मशाला निर्माण गर्नुभएको थियो । त्यो धर्मशालामा आएका फकिर, जोगीहरुलाई खानेबस्ने र सिदाको समेत ब्यवस्था गर्ने गर्नुहुन्थ्यो ।

राजभण्डारी दम्पतिका ४ जना छोरी मध्ये जेठी छोरी योगकुमारी राजभण्डारीको भोजपुर दाँवाका हस्तबहादुर श्रेष्ठ सँग विवाह भयो । हस्तबहादुर ओखलढुंगाको मालअड्डामा राइटरपदमा कार्यरत हुनुहुन्थ्यो । योगकुमारी दम्पति ओखलढुंगा माइतीघरमै आफ्ना सन्तान हुर्काउनुभयो । उनै दम्पतिका छोरा बुद्धीनारायण राजभण्डारी नेपालको सिमाविद हुनुहुन्छ । सिमाविद श्रेष्ठले समाजमा समाजसेवाको भावनालाई विकास गराउन आफ्ना हजुरबुवाले गरेको समाजसेवाको सम्मानस्वरुप, हजुरवा हजुरआमाको शालिक बनाएको बताउनु भयो ।  राइटर हस्तबहादुरले २००७ सालको ओखलढुंगा क्रान्तिमा ज्यान गुमाउनु  भएको थियो ।

प्रतिक्रिया