चोरीको आरोपमा ५५ वर्षिय परियार सहित तीन महिला पक्राउ


झगनखबर

चैत २६ । चोरीको आरोपमा ५५ वर्षिय मिठु परियार सहित तीन जना महिला पक्राउ परेका छन् । चिसंखुगढी गाउँपालिका वडा नं ४ चिसापानी खतिवडा टोल बस्ने अन्दाजी वर्ष २४ की सुनिता सार्की, सोही ठाउँका कविता परियार र ५५ वर्षिय मिठु परियार रहेका छन् । उनिहरुले विभिन्न मितिमा गहना सहित नगद चोरेको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले नगद सहित धनमाल बरामद गरी आइतबार पक्राउ गरिएको जानकारी दिएको छ । आइतबार रितपुर्वक पक्राउ गरिएका आरोपीहरुलाई जिल्ला अदालत ओखलढुंगाबाट सोमबार ७ दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान गरिरहेको बताएका छन् । दुई ठाउँबाट नगद र धनमाल गरी जम्मा १० लाख ९० हजार तीन सय बराबरको चोरी गरेको प्रहरीले जानकारी दिएको छ । चैत ११ गते राती ९:३० बजेको समयमा चिसंखुगढी गाउँपालिका वडा नं ५ स्थित दुर्गा बहादुर परियारको घरभित्र पसी दराज फुटाई नगद तथा सुनचाँदीका गरगहना समेत गरी जम्मा रु १ लाख ८ हजार ८ सय बराबरको धनमाल चोरी गरेका थिए । चैत १६ गते राती अन्दाजी १० बजेको समयमा चिसंखुगढी ५ पाखेस्थित चिसापानी बस्ने कमल बहादुर राउतको घरमा हँसियाले झ्याल फुटाई  भित्र पसी निजकी आमा ७० वर्षिय उमा कुमारी राउत सुती निदाएको अवस्थामा कोठामा भएको सुनचाँदीका गहना, नगद सहित ९ लाख ८१ हजार ५ सय बराबरको चोरी गरेका थिए ।

उनिहरुबाट प्रहरीले बारमद गरेका सामग्रीहरु :

झ्याल फुटाउन प्रयोग गर्ने गरेको हँसिया १ थान, सुनको बाला १ थान, सुनको तिलहरी २ थान, सुनको छापे औंठी १ थान, कानमा लगाउने सुनको मुन्द्री १ थान, नाँकमा लगाउने सुनको फुली ४ थान, चाँदीको पाउजु १ थान, चाँदीको छापे औंठी १ थान, किप्याड मोबाईल ४ थान, कलेजी रंगको उनीको टोपी १ थान, पैसा राख्ने गरेको फलामको पाइप २ थान नेपाली नगद रु ८ हजार ५ सय ६५ तथा मह, खाने तेल साबुन लगायतका दैनिक उपभोग्य सामग्रीहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।


प्रतिक्रिया