कोशीमा मुख्यमन्त्री कार्की बिरुद्ध संसदमा संकल्प प्रस्ताव पेस


झगनखबर

बैशाख ६ । कोशीमा मुख्यमन्त्री केदार कार्की बिरुद्ध  संसदमा संकल्प प्रस्ताव पेस गरिएको छ । नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्की बिरुद्ध संकल्प प्रस्ताव पेश गरिएको हो ।  कोशी प्रदेश सभाको बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी प्रस्तावक तथा माओवादी केन्द्रका गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलाल समर्थक रहेको उक्त प्रस्ताव पेश भएसँगै बैठक शुक्रबार ११ बजे सम्मका लागि स्थगित भएको हो ।

एमाले र माओवादीले दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेको एमाले प्रमुख सचेतक भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न मिल्दैन उहाँ अल्पमतमा परेपछि सरकारको प्रमुख हुन मिल्दैन ।

असोज २७ गते एमालेका ३९ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको तर परिस्थितिले मुख्यमन्त्री केदार कार्कीलाई समर्थन र विश्वासको मत दिन नसकेको भन्दै एमालेले बताएको छ ।

प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सांसद रहेको दल विपक्षी बेन्चमा बसेका छन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद रहेका दुई दल मात्रै सत्ता पक्षको बेन्चमा बसेका छन् ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । तर, सत्ता पक्षसँग ३३ जनाको मात्र समर्थन रहेको छ ।

मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरेका दुई दलको कदमलाई चुनौती दिँदै मुख्यमन्त्रीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान नछाडेपछि एमाले र माओवादीले संसदमा संकल्प प्रस्ताव पेस गरेका हुन् ।

प्रतिक्रिया