झगनखबर
माघ ११ । सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज बाट सुरु भएको छ । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने स्वस्थानी व्रत र कथा सुरु भएको हो ।
हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन
गर्ने गर्दछन् । एक महिनाभर व्रत कथाका ३१
अध्याय पाठ वाचन र श्रवण गरिन्छन् । आजबाट सुरु भएको कथा वाचन एक महिनाभरी चल्ने
गर्दछ । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको व्रत तथा कथा वाचन माघ शुक्ल
पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री
स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा
एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ
।स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् ।
उनीहरू पूर्ण शाकाहारी हुन्छन् ।
श्री स्वस्थानी माताका प्रभावले यो
विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ
हुन्छ । अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ । अष्ट
मातृका अर्थात् आठ वटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार
रहेको जनविश्वास छ । शुद्ध चित्त अनि सफा सङ्कल्प लिएर भक्ति अनि श्रद्धा सँग
अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाङ्क्षा पूरा गर्ने देवी स्वस्थानीका
चार वटा हात छन् । हातहरूमा चक्र, त्रिशूल, तरबार अनि कमलको फूल छन् ।
कथाको बारेमा :
स्वस्थानी शब्द स्वस्थानमा ई प्रत्येय
लागेर बनेको हो । स्वस्थान भन्नाले आफैंमा रहने भन्ने अर्थ हुनाले स्वस्थानीको अर्थ
आफ्नै वरपर रहने मातृशक्ति देवी भन्ने बुझिन्छ । स्वस्थानी व्रत नेपाली मूलका
हिन्दूहरूले मात्र मनाउने र स्वस्थानी व्रतकथाभित्र पर्ने लावण्यदेश, सालीनदी, गौरीघाट, मृगस्थली, किरातेश्वर, बागमती नदीलगायत क्षेत्रहरू
नेपालभित्रै पर्ने हुनाले नेपालको स्थानीय एवं मौलिक पर्वको रूपमा
स्वस्थानीव्रतलाई लिइन्छ । महिना दिनभर घरघरमा वाचन एवं श्रवण गरिने श्रीस्वस्थानी
व्रतकथाको महत्व धार्मिक एवं आध्यामिक रूपले मात्र नभई समाजका विकृतिलाई हटाएर
स्वस्थानमा रहन प्रेरित गर्दछ । हाम्रो समाजमा अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउनको
निमित्त स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ ।
अष्टमातृकाहरुको केन्द्रका रुपमा
स्वस्थानी माता
वैष्णवी, महाकाली, चामुण्डा, इन्द्राणी, वाराही, कोमारी, महेश्वरी र ब्राह्मी माता स्वरुपहरु नै
अष्मातृकाका रुपमा विराजमान हुनुहन्छ । ‘वृहदस्वस्थानी(व्रतकथा’ पुस्तकको अनुसार, श्रीस्वस्थानी देवीको ८ वटा रूप रहेको
छ, जसलाई अष्टदल भनिन्छ। अष्टदलको
केन्द्रमा बसेकी चार हातमा त्रिशूल, तलवार, चक्र र कमल लिएकी श्रीस्वस्थानी देवी
हुनुहन्छ ।
स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा
ब्राहृमणीले आफ्ना दुई बुहारी चन्दावती र लावण्यवतीलाई विभिन्न उपदेश दिई ढुकुटीको
साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो नेपाली समाजमा पनि नयाँ पुस्तलाई मौका
दिइनुपर्ने सन्देश पाइन्छ । साथै काम र उमेरले पाका भएको व्यक्तिहरूको सम्मान
गर्दै उनीहरूले सिकाएको पाठलाई सधैं मनन एवं अध्ययन गर्ने हो भने पक्कै पनि समाजको
चौर्तफी विकास हुने कुरामा कसैको दुईमत नहोला । अतः हाम्रो समाजमा चलि आएको
स्वस्थानी कथाले नेपाली समाजमा रहेका विकृत तथा विसंगतिलाई हटाई स्वस्थ समाज
निर्माण गर्ने सन्देशको रूपमा लिन सकिन्छ ।