ब्राजिलमा विमान खस्यो, ६१ जनाको मृत्यु


साउन २६ । ब्राजिलमा विमान दुर्घटना भएको छ । विमानमा चार जना चालक दलका सदस्य र ५७ यात्रु बोकेको एटीआर ७२५०० विमान ब्राजिलको साओ पाउलो भन्ने ठाउँमा शुक्रबार दुर्घटना भएको हो ।

दुईवटा इन्जिन भएको उक्त विमान दक्षिणी राज्य पारानाको कास्काभेलबाट साउ पाउलो सहरको ग्वारुल्यूस विमानस्थलतर्फ जाँदै गर्दा भिन्हेदो सहरमा खसेको भोल्पेस एअरलाइन्सले जनाएको छ। नागरिक उड्डयन ब्राजिलका अनुसार उडानहरूको रेकर्ड राख्ने वेबसाइट फ्लाइटरेडार २४ का अनुसार उक्त विमान स्थानीय समय अनुसार ११ बजेर ५६ मिनेटमा कास्काभेलबाट उडेको थियो।  त्यसको करिब डेढ घण्टापछि विमानसँगको सम्पर्क टुटेको थियो।

ब्रजिलको नागरिक उड्डयनसम्बन्धी निकायले सन् २०१० मा निर्मित उक्त विमान सबै मापदण्ड पूरा गरेकोू र राम्ररी चलाउन सकिने अवस्थामा रहेको बताएको छ।

मैले विमान खसेको आवाज सुनेपछि घरको झ्यालबाट बाहिर हेर्दाहेर्दै त्यो दुर्घटना भएको देखेँ, प्रत्यक्षदर्शी फिलिपे म्यागाल्हेसले रोएटर्स समाचार संस्थासँग भनेका छन्। उनले उक्त दृश्य देखेपछि आफूलाई त्रसित बनाएको पनि बताएको विविसीले जनाएको छ ।

सन् २००७ पछि यो ब्राजिलमा भएको सबैभन्दा घातक विमान दुर्घटना हो। सन् २००७ मा त्यहाँ टीएएम एक्सप्रेस विमान साउ पाउलोको कन्गोन्हास विमानस्थलमा दुर्घटना हुँदा १९९ जनाको मृत्यु भएको थियो।

दुर्घटनापछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले तीन दिने शोकको घोषणा गरेका छन् ।

प्रतिक्रिया