झगनखबर
फागुन २७ । मोलुङ्ग गाउँपालिका वडा नं ४ स्थित
माझखर्कमा पिउने पानीको धारा घर–घरमै पुगेपछि स्थानियबासी खुशी भएका छन् । नेपाल
रेडक्रस सोसाइटी ओखलढुंगाको अगुवाईमा पानी
घर–घरमै पु¥याईदिएपछि स्थानिय बासी खुशी भएका हुन् । मोलुङ्ग गाउँपालिकाको वडा नं ४
मा पर्ने बिकट ठाउँ माझखर्क, खस्रेनी फेदी, उर्लेनीका ६२ घरधुरीमा पानीको धारा पुगेको छ
। नेपाल रेडक्रस सोसाइटी, मोलुङ्ग गाउँपालिका र स्थानिय
जनश्रमदान बाट खानेपानी सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी रकम रु ४४ लाख ९३
हजार २ सय ३० रुपैया ७० पैसा, मोलुङ्ग गाउँपालिका १५ लाख ३ हजार ९ सय ५५ रुपैया
९५ पैसा र जनश्रमदानबाट १५ लाख ६ हजार गरी जम्मा ७५ लाख ३ हजार १ सय ८६ रुपैया ६५
पैसामा निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष लाल बहादुर तामङ्गले बताउनु
भयो । खानेपानी निर्माण गर्नको लागि प्रत्येक परिवारले ३३ दिन बराबरको श्रमदान
गरेका छन् भने अपाङ्ग अशक्तलाई श्रमदानमा सहभागी नगराई सहयोग गरेको बताएका छन् ।
टाढा र छरिएर रहेको
वस्ती भएका कारण कसैले पनि खानेपानीको काम गर्न नचाहेको र नेपाल रेडक्रस सोसाइटीको
दिगो र समाबेशी खानेपानी, स्वच्छता तथा सरसफाई प्रबद्र्धन कार्यक्रम अन्तर्गत काम गरी खानेपानीको
निर्माण सम्पन्न गरेको रेडक्रस सोसाइटी ओखलढुंगाका अध्यक्ष नारायण प्रसाद दाहालले
बताउनु भयो । उक्त ठाउँको बस्तीलाई २० हजार घनमिटरको १ वटा, १० हजार घनमिटरको २
वटा र ५ हजार घनमिटरको १ गरी जम्मा चार वटा आर.भि.टी ट्याङ्की निर्माण गरी खानेपानीको
वितरण गरिएको छ । खानेपानीको निर्माण सम्पन्न भई चौबिसै घण्टा धारामा पानी आउने
भएकाले स्थानियबासी खुशी भएका छन् । खानेपानीको दुःख भएपछि वडा र पालिकामा कुरा
राख्दा कुरा सुनुवाई भएको थिएन, रेडक्रस सोसाइटी ओखलढुंगाबाट आएर खानेपानी बनाईदिनु
भएकाले पानीको समस्या समाधान भएको स्थानिय बासी एवं निर्माण उपभोक्ता समितिका
अध्यक्ष लाल बहादुर तामङ्गले बताउनु भयो ।
‘खोलामा पानी लिन
जानुपथ्र्याे, कहिलकाही त खोलामा पनि पानी हुँदैनथियो त्यसै फर्किनु पर्ने अवस्था
हुन्थ्यो अहिले त घरैमा पानी आयो सजिलो भएको छ !’ स्थानिय बृद्ध बुद्धमाया
तामङ्गले बताउनु भयो ।
‘पहिला घण्टौ सम्म
गाग्री बोकेर पानी लिन जानुपथ्र्याे, अहिले त घरमै धारा आएको छ । भाँडामै पानी
थाप्छु लगेर चुल्होमा
बसाल्छु, भैँसीको गोबर सोर्छु बाख्रापाठा समाउछु धारामै हातखुट्टा पखाल्छु ।’ स्थानिय डोल्मा तामङ्गले खुशी ब्यक्त गर्नुभयो ।
ग्राम विकास आधारभूत विद्यालय माझखर्क (१–५) र स्वास्थ्य युनिटमा निशुल्क धारा पानीको व्यवस्था गरिएको रेडक्रस सोसाइटी ओखलढुंगाको वास परियोजनाको परियोजना अधिकृत खिलराज बताउनु भयो । विद्यालयमा विद्यार्थीहरुलाई पिउने पानीको समस्या नहोस भनेर हात धुने बानीको विकास गर्न धाराको निर्माण गरिएको बताएका छन् । मोलुङ्ग गाउँपालिकाको वडा नं ३ मा पनि खानेपानीको काम भईरहेको गुरागाइले बताउनुभयो ।