नेपाली कांगेस ओखलढुंगाका पुराना नेता दाहाल दम्पती मृत भेटिए

ओखलढुंगा २२, फागुन । नेपाली कांग्रेस ओखलढुंगाका पुर्व उप सभापति हेम प्रसाद दाहाल र उहाँकी धर्मपत्नि बेदुका दाहाल मृत अवस्थामा भेटिएका छन् । मोलुङ गाउँपालिका वडा नंं २ लामिडाँडा  निवासी दाहाल दम्पति घर नजिकै फरक फरक ठाउँमा झुन्डिएको अवस्थामा सोमबार बिहान करिब ९ बजेको समयमा भेटिएका हुन । दाहाल आफ्नो घर देखि करिब २०० मिटर पुर्व फडिन्द्र बहादुर सार्कीको खरबारीमा खनिउँको रुखमा रातो कपडाले बनेको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको र उहाँकी श्रीमती घर देखि ४० मिटर पुर्व फडिन्द्र बहादुर सार्कीकै बारीको डिलमा भएको सिरिस जातको रुखमा नाईलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटना के कति कारणले भएको हो भन्ने कुरा खुलीनसकेकोले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

करिब ९ बजेको समयमा  श्रीमती बेदुका दाहाल घरनजिकै झुन्डिएको अवस्थामा भेटिएपछि हेम प्रसादको खोजी भएको थियो । वरिपरी कतै पनि नभेटिएपछि करिब ११ बजेतिर घरभन्दा अलि टाढा खरबारीमा झुन्डिएकै अवस्थामा  भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

२००९ सालमा जन्मिएका दाहाल ३१ साल देखि नेपाली कांग्रेसको सक्रिय राजनितिमा सक्रिय हुनुहुन्थ्यो । कांग्रेस भएकै कारण  २०४५ सालको अन्तिमतिर ओखलढुंगामा प्रहरीले हिरासतमा लिएको थियो । २०४६ सालमा नेपालमा प्रजातन्त्र आएपछि झन सक्रिय रुपमा राजनितिमा लागेका दाहाल २०५२ सालमा सुकुम्बासी समस्या समाधान आयोग ओखलढुंगाका  जिल्ला अध्यक्ष बन्नु भएको थियो । पार्टीको क्षेत्रिय सभापति देखि लामो समय जिल्ला सदस्य हुदै उप सभापति भएर  राजनिति गर्नु भएको थियो । पछिल्लो समय युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्छ भन्ने सोच भएका पुराना नेता दाहाल पदविहिन भएपनि राजनितिमा भने सक्रिय रहनुभएको थियो । सबै सँग बोल्ने स्वभाव भएका दाहाल मिजासिलो नेताका रुपमा जिल्लामा परिचित छन् । नेता दाहाल, २०५१ सालका माननिय चन्द्रकान्त दाहालका आफ्नै माईलो भाई हुन् । उहाँका १ छोरा र ५ छोरी रहेका छन् । नेता दाहालको मृत्युले नेपाली कांग्रेस ओखलढुंगालाई अपुरणिय क्षति भएको नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनालले बताउनु भयो ।  

प्रतिक्रिया