पर्यटक लोभ्याउने ठाडे जन्तरधापका गुराँस


राजकुमार कार्की

  चैत ३१ । जिल्लाको सिद्धिचरण नगरपालिका अन्तरगत ठाडे जन्तरधापमा फुलेका गुराँसले पर्यटकलाई आकर्षण बढाएको छ । सिद्धिचरण नगरपालिका वडा नं ६ का ठाडे र जन्तरधाप क्षेत्रमा ढकमक फुलेका गुराँसका फुलले आकर्षण बढाएको हो ।  विभिन्न कलरमा फुलेका  गुराँसका फुलहरुले सबैलाई मन्त्रमुग्ध बनाउने गरेको छ । सोलुसल्लेरी जाने मुख्य सडकको आसपासमा र जन्तरखानीका भित्री वनहरुमा पनि गुराँस फुलेर ढकमक छन ।

पाखामा विभिन्न जातका गुराँसका फुल फुलेका कारण आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । गुराँस फुलेको हेर्ने टिकटक बनाउने, भिडियो बनाउने र रमाईलो गर्न आउने पर्यटकका कारण स्थानीय ब्यापार ब्यावसायमा समेत टेवा पुगेको वडा अध्यक्ष मेख बहादुर मगरले बताउनु भयो । गुुराँसको सुन्दरताको अवलोकन र मनोरञ्जनका लागि जिल्ला भित्रका र अन्य विभिन्न जिल्लाका पर्यटक आउने गरेका छन् । अन्य समयको तुलनामा गुराँस फुलेको समयमा तुलनात्मक रुपमा होटल ब्यावसाय बढ्ने गरेको होटल व्यावसायी इन्द्र बहादुर मगरले बताउनु भयो । खाजा खाना र विशेष गरि आलुका परिकारहरु बढी बिक्री हुने गरेको होटल ब्यावसायी मगरले बताउनु भयो ।

विशेष गरी फागुन महिनाको दोश्रो हप्तादेखि चैत महिना भरी फुल्ने गरेको छ । गुराँस फुलेको एक महिना सम्म राम्रो देखिने  र त्यसपछि झर्न थाल्ने स्थानीय बल बहादुर मगरले बताउनुभयो । यो वर्ष  पानी नपरेका कारण गतवर्षहरुमा जस्तो गुराँस नफुलेको मगरले बताउनु भयो । माघ महिनामा पानी पर्दा गुराँस छिटो फुल्ने र ढिलो समय सम्म अडिने गर्छ । तर समयमा पानी नपर्दा गुराँस पनि कम फुल्ने र छोटो समयमै सुक्ने गरेको छ ।

गुराँस जोगाउनलाई वडा कार्यालयले गुराँस संरक्षण अभियान सन्चालन गरेको छ । अहिले वडाले गुराँस भएको ठाउँमा झाडी फाँडेर सफा बनाएर गुराँसका बिरुवा मात्र जोगाउन शुरु गरेको छ । स्थानीयबासीले दाउराको रुपमा प्रयोग गर्न गुराँस काटने गरेका थिए । तर अहिले वडा कार्यालयले गुराँस जोगाउन गुराँस संरक्षण अभियान नै सुरु गरेको छ । आफु वडाअध्यक्ष भएदेखि नै अभियान सन्चालन गरेको वडाअध्यक्ष मेख बहादुर मगरले जानकारी दिनुभयो । अहिले कसैले पनि गुराँसको बिरुवा काट्दैनन्, गुराँस भएका ठाउँमा अन्य घाँसपात लगायत नचाहिने झ्यासहरु सफा गर्न सबै लाग्ने गरेका छन् । कसैले गुराँस काटेको थाहा भएमा वन ऐन अनुसार कारवाही गरिने अध्यक्ष मगरले जानकारी दिनुभयो ।

कति जातका गुराँस पाइन्छन् भन्ने कुनै जानकारी तथ्याँक नभएपनि सेतो, रातो, बैजनी लगायतका कलरमा फुलेको प्रष्ट देख्न पाइन्छ । जिल्लाभरी कति ठाउँमा गुराँस फुल्ने गरेका छन् जिल्ला वन डिभिजन कार्यालयमा एकीन तथ्याँक भने छैन । खिजीदेम्बा गाउँपालिकाको माथील्लो भेगमा गुराँस फुल्ने गरेका छन् ।

प्रतिक्रिया