कृषिमा जोड दिदै नगरसभा, कृषी एम्बुलेन्स खरिद गर्न बजेट बिनियोजन


झगनखबर

 असार १६ । जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले कृषिमा विशेष जोड दिँदै नगरसभा सम्पन्न गरेको छ । भर्खरै सम्पन्न भएको १२औँ नगरसभाले चिस्यान केन्द्र निर्माण देखि कृषि एम्बुलेन्स पनि खरिद गर्ने भएको छ । कृषी एम्बुलेन्स खरिद गर्न ३० लाख बजेट प्रस्ताव गरेको छ भने संघ र प्रदेश सरकारको लागत साझेदारीमा चिस्यान केन्द्र निर्माण गर्न १० लाख बजेट बिनियोजन प्रस्ताव गरिएको छ । 

किसानले उत्पादन गरेको कृषि उपजहरुलाई सुलभ तरिकाबाट बजार पु¥याउने उद्देश्यका साथ कृषि एम्बुलेन्स खरिद गर्न बजेट प्रस्ताव गरिएको नगरप्रमुख तेजेन्द्र खनालले बताउनु भयो । स्थानियस्तरमा उत्पादन भएका कृषि सामग्रीहरु गाडीमा महंगो भाडा तिरेर बजार सम्म पु¥याउदा किसानले उपयुक्त मूल्य पाउन सकेका थिएनन् । नगरपालिकाले सुलभ मूल्यमा कृषि एम्बुलेन्स प्रयोगमा ल्याएपछी किसानले उत्पादन गरेका थोरैथोरै सामग्रीहरु पनि बजार पु¥याउन सजिलो हुने भएको छ । बजार अभावका कारण किसानहरुले तरकारी तथा कृषिजन्य उत्पादनहरु उत्पादनमा ध्यान दिएका थिएनन् । किसानले उत्पादन गरेका कृषि उत्पादनहरुले उचित मूल्य पाउने र सहज बजार पाउने हो भने रोजगारीका लागि बिदेशिने युवाहरुको कमी हुने नगरको ठम्याई रहेको छ ।

जिल्ला सदरमुकाममा भएको नगरकार्यापालिकाको कार्यालयमा आइपुग्न वडाका नागरिकहरुलाई  पैदलयात्रा गर्ने हो भने करिब १ दिन लाग्छ । तर अहिले सबै वडाहरुमा सडक सन्जाल पुगिसकेको छ । वडा वडामा सडक निर्माण भएपनि सहज यातायातका साधनहरुको पहँुच नहुँदा खेतबारीमा उत्पादन भएका कृषि सामग्रीहरु बजार सम्म लैजान समस्या छ । नगरपालिका भित्र ओखलढुंगा सदरमुकाम, रुम्जाटार र निशंखेभञ्याङ्गमा कृषी हाटबजार लाग्ने गरेको छ । १२ वटा वडा रहेको नगरपालिकामा आफुलाई पाएक पर्ने हाटबजारमा डोकोमा बोकेर लगेर बिक्रीवितरण गर्ने गरेका छन् ।

ओखलढुंगा सदरमुकाममा शनिबार र बुधबार, रुम्जाटारमा शुक्रबार त्यसै गरी निशंखेभञ्ज्याङ्गमा पनि शुक्रबार नै कृषिहाटबजार लाग्ने गरेको छ ।

उत्पादनस्थलबाट डोकोमा बोकेर हाटबजार सम्म पु¥याई बिक्रीवितरण गर्न नभ्याउने भएकाले किसानहरुले आफ्नो उत्पादन सस्तो मूल्यमा ठेकेदारलाई जिम्मा लगाउनु पर्ने बाध्यता रहेको छ । अधिकाँस किसानहरुले बिहान राती नै डोकोमा बोकेर ल्याई सामान्य मूल्यमा ठेकेदारलाई जिम्मा लगाएर जाने गरेका छन् । उत्पादनलाई ठेकेदार मार्फत उपभोक्ता सम्म पु¥याउनु पर्ने बाध्यात्मक परिस्थितिले उत्पादकले मूल्य नपाउने र उपभोक्ताले पनि सुलभ मूल्यमा वस्तु नपाउने अवस्था रहेको छ । उत्पादन मात्रै गर्छौ, फाइदा जति सबै अरुले खान्छन्, हामी त काम गर्ने मात्र हो । काम, मल, बिउ लगानी सबैको हिसाब गर्ने हो भने हामीलाई त केहि फाइदा छैन । बिगुटारकी आङदीकी शेर्पाले गुनासो गर्नुभयो ।

किसानका यावत समस्यालाई ध्यान दिदै सिद्धिचरण नगरपालिकाले कृषी एम्बुलेन्स खरिद गर्न बजेटको प्रस्ताव गरेको हो । मसलाबाली प्रबद्र्धन गरी किसानको जीवनस्तर उकास्न २० लाख बजेटको प्रस्ताव गरिएको छ । कृषी र पशुतर्फ सशर्त र निशर्त गरी १ करोड ८९ लाख ५९ हजार बजेटको प्रस्ताव गरिएको छ ।

१२ औँ नगरसभाले कृषि तथा पशु तर्फ प्रस्ताव गरिएको बजेट

कृषि तथा पशु तर्फ:

  1. एक वडा एक उत्पादन पकेट विकास कार्यक्रम अन्तर्गत फलफूल, तरकारी र प्याज लसुन जस्ता मसलाबाली प्रवर्द्धन गरी किसानको आयआर्जनमा बृद्धि मार्फत जिवनस्तरमा सुधार ल्याउन रु २० लाख बजेट विनियोजन गरेको छु ।
  2. सदरमुकामस्थित बजार क्षेत्रमा संघीय सरकार र प्रदेश सरकारको लागत साझेदारीमा तरकारी बिक्री कक्ष तथा चिस्यान केन्द्र निर्माण कार्य अगाडी बढाउन पहल गरिनेछ । जसको लागि म्याचिङ्ग फण्ड अन्तर्गत यस आ.व. मा रु १० लाख बजेट विनियोजन गरेको छु ।
  3. पशु रोग, विभिन्न महामारी र लम्पी जस्ता घातक रोग नियन्त्रणका लागि पशु स्वास्थ कार्यक्रम अन्तर्गत रु १२ लाख बजेट विनियोजन गरेको छु ।
  4. दुग्घ विकास संस्थानको सहकार्यमा दुध उत्पादन संङ्कलन र बजारीकरणको लागि दुग्घ सङ्कलन केन्द्र स्थापना  गर्न रु  ५ लाख बजेट विनियोजन गरेको छु ।
  5.  पशु स्वास्थ्य सेवा सम्बन्धी आधारभूत सेवा प्रवाहको लागि एक गाँउ एक प्राविधिक, उपकरण खरिद, पशु नश्ल सुधार र पशु बिमा लगायतका कार्यक्रमहरुको लागि रु १६ लाख बजेट विनियोजन गरेको छु ।
  6. कृषकको उत्पादनलाई सहज बजार व्यवस्थापन गर्न तथा कृषि उपजको उचित मूल्य कृषकले प्राप्त गर्ने सुनिश्चिताको लागि कृषि एम्बुलेन्स व्यवस्था गरिनेछ । जसका लागि ३० लाख बजेट विनियोजन गरेको छु ।
  7. कृषकलाई सुलभ मूल्यमा प्राप्त सत प्रतिशत अनुदानको व्यवस्था मिलाइएको छ, जसको लागि रु. ८ लाख बजेट विनियोजन गरेको छु ।
  8.  कृषि तथा पशु तर्फकोसशर्त तर्फ रु. ८४ लाख र निशर्त तर्फ रु।१ करोड ५ लाख ५९ हजार गरी कुल बजेट रु.१ करोड ८९ लाख ५९ हजार बजेट विनियोजन गरेको छु ।

 

 

प्रतिक्रिया