काममा पारदर्शिता र सुशासन कायम गरेका छौं -प्रमुख प्रशासकीय अधिकृत लम्साल

सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल सँग गरिएको कुराकानी 

ओखलढुंगा, 

२०६७ सालदेखि निजामती सेवामा लागेका शाखा अधिकृत बलराम लम्साल हाल सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । प्रस्तुत छ, उहाँसँग संवाददाता लीला सुनुवारले पालिकाको सेरोफेरोमा रहेर गरेको कुराकानीको सम्पादित अंश :

सिद्धिचरणले विकास निर्माणको कामलाई कसरी अगाडि बढाइरहेको छ ?

हामीले यस चालू आर्थिक वर्षको योजना असारमा निर्माण ग¥यौं । त्यो एक वर्षको योजनाले सिद्धिचरणका जनताले पाउने विकासका आधारशिला केके हुने र त्यसलाई कसरी अगाडि बढाउने भन्ने एउटा खाका तयार पारेको छ । ती योजनाहरुलाई कार्यान्वयन गर्नका लागि हामीले कार्ययोजना बनायर अगाडि बढेका छौं । कुन योजनालाई कुन समयमा कार्यान्वयन गर्ने । त्यो योजनाबाट जनतालाई केकस्तो प्रतिफल प्राप्त हुन्छ र त्यो प्रतिफल जनतालाई छिटो डेलिभरी गर्ने हिसाबले हामी अहिले अघि बढिरहेका छौं ।

चालू आर्थिक वर्षको योजना छनोटमा पालिकाले कुन क्षेत्रलाई बढी प्राथमिकतामा राखेको छ ?

हामीले ६ वटा प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेका छौं । त्यसमा पूर्वाधार विकासमा बजेट धेरै छुट्याएका छौं । कृषि, स्वास्थ्य, शिक्षा, सिँचाइ र पर्यटनमा हामीले विशेष प्राथमिकताका साथ बजेट बिनियोजन गरेका छौं ।

छनोट भएका योजनाहरूको कार्यान्वयन प्रक्रिया कहाँ पुग्यो ?

आर्थिक वर्षको शुरुआती असार मसान्तमा बनेका योजनाको ६० प्रतिशत योजना कार्यान्वयन प्रक्रियामा रहेका छन् भने ४० प्रतिशतकोे योजना सम्पन्न भएर भुक्तानी समेत भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनाहरुको सम्झौता यही १० गतेभित्र गरेर काम अघि बढाउने प्रक्रियामा छ । बहुवर्षीय ठेक्काका योजनाहरुको निरन्तर काम भइरहेका छन् । यो वर्षमा लागेका दुईवटा ठेक्काका काम सम्पन्न भएर भुक्तानी समेत गरिएको छ । केही योजना सम्पन्न हुने चरणमा छन् ।

ठेक्कामार्फत काम गर्ने क्रममा ठेकेदारबाट समस्या हुने गरेको देखिन्छ । सिद्धिचरणको हकमा यस्तो समस्या आएको छ कि छैन ?

हाम्रा धेरैवटा योजना ठेक्कामा छैनन् । १२÷१३ वटा योजना मात्रै ठेक्कामार्फत गरिएको छ । त्यसमा हाम्रो मिश्रित अनुभव छ । केही ठेक्का समयमै काम सम्पन्न भएर हस्तान्तरण भएका छन् । जस्तै नगरपालिकाको भवन समयमै काम सम्पन्न भएको छ । एक वर्षीय योजनाहरुमा भने केही समस्या आएका छन् । ससाना बाटोमा विनियोजन भएका योजनाहरु समयमा सम्पन्न हुनसकेका छैनन् । त्यस्ता योजनालाई समय थप गरेर योजना सम्पन्न गर्ने गर्नुपरेको छ । हाम्रा केही वडा कार्यालयका भवन निर्माणमा ठेकेदारबाट ढिलासुस्ती चाहिँ भएको छ ।

समयमा योजना सम्पन्न नगर्ने ठेकेदारीलाई केकस्ता कारबाही गर्ने गर्नुभएको छ ?

सबै ठेकेदार एकै प्रकृतिका छैनन् । केही ठेकेदारमा समस्या आएका हुन् । केही ठेकेदारले समयमा सम्पन्न गरेका छन् भने केहीले ढिलासुस्ती गरेका छन् । काममा ढिला गर्ने ठेकेदारलाई ताकेता गरेर काम सम्पन्न गराउने, समयमा काम सम्पन्न गर्न नसक्नुका कारणसहित उपस्थितिका लागि पत्रचार गर्ने र यत्ति गरिसकेपछि पनि काम सम्पन्न भएन भने बाँकी अवधिको जरिवाना काटेर मात्रै भुक्तानी गर्ने गरेका छौं ।

सुशासनका लागि कत्तिको ध्यान दिने गर्नुभएको छ ?

हामीले सुशासनका लागि सबै प्रक्रिया अगाडि बढाएका छौं । हाम्रा हरेक क्रियाकलापलाई वेभसाइटमा सार्वजानिक गर्ने गरेका छौं । सेवाग्राहीलाई सहजताका लागि सिद्धिचरण चार्टको व्यवस्था गरेका छौं । काममा पारदर्शिता, सेवाग्राहीलाई गुनासो गर्न सहज र सेवाग्राहीको काममा सहजताका लागि एक जना कर्मचारीसहितको हेल्प डेस्कको व्यवस्था गरेका छौं । हामीले गरेका हरेक क्रियाकलापलाई जनतामाझ पु¥याउन वेभसाइट र फेसबुक पेजमा राख्ने, नगरपालिकाका कार्यक्रमको जानकारी पत्रपत्रिका तथा रेडियोहरुबाट प्रसारण गराउने गरेका छांै ।

विकास निर्माण तथा सुशासनमा जनप्रतिनिधिहरु कत्तिको संवेदनशील रहेको पाउनुभएको छ ?

नगरपालिकामा जनप्रतिनिधिहरु विकासकै एजेन्डा बोकेरै आउनुभएको छ । विकासकै लागि आएकाले उहाँहरु इमानदारपूर्वक तथा तदारुकताका साथ जनतालाई कसरी सेवा सहज दिन सकिन्छ, विकासलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, जनताका माग र चाहना अनुसार हामीले कसरी बजेट व्यवस्थापन गरेर सुन्दर सिद्धिचरण बनाउन सकिन्छ भनेर काम गरिरहनुभएको मैले पाएको छु ।

सुन्दर पालिका निर्माणका लागि कुनै विशेष कार्यक्रम छनोट गर्नुभएको छ कि ?

सुन्दर सिद्धिचरण निर्माणका लागि हामीले विभिन्न किसिमका मार्गचित्र निर्माण गरेका छौं । अहिले हामीले आवधिक योजना निर्माण गरिरहेका छौं । कस्ताकस्ता ठाउँमा कस्ता योजना निर्माण गर्दा खास जनताले खोजेको विकास दिन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न चरणमा सरोकारवालाहरूसँग छलफल गरिसकेका छांै । शैक्षिक प्रणाली सुधारका लागि शिक्षा सुधारकार्य योजना तयार गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा छौं ।

शिक्षा सुधार कार्ययोजनामा कस्तो योजना बनाउनुभएको छ ?

शैक्षिक सुधारका लागि नगरपालिकाभित्र रहेका विद्यालयहरुमा ईहाजिरीको व्यवस्था गर्ने योजना बनाएका छौं । विद्यार्थीका लागि विद्यार्थी डायरीको व्यवस्था र शिक्षकका लागि शिक्षक डायरीको व्यवस्था गर्ने योजना बनाएका छौं । प्रत्येक विद्यालयमा सीसीटिभीको व्यवस्था पनि गर्ने योजना छ ।

प्रायःजसो स्थानीय तहमा बेरुजुको समस्या निक्कै देखिने गरेको छ । तपाईंको पालिकाको अवस्था कस्तो छ ?

हाम्रो पालिकामा बेरुजु मुख्य समस्याका रूपमा छैन । स्थानीय तहहरु भर्खर निर्माण भएका र त्यहाँ सबै किसिमका ऐन कानुन निर्माण भइनसकेको अवस्था छ । जसले गर्दा स्थानीय सरकारले आफ्ना कार्यसम्पादन गर्नुपर्ने पाटो एकातिर छ भने अर्कोतिर सबै कानुन निर्माण भइसकेको अवस्था छैन । कानुनको अभावमा बेरुजु पूर्णरूपमा नियमन गर्न सकिएको छैन । गाविस हुँदादेखिका बेरुजुहरु जोडिएकाले पनि बेरुजुको भोलुम ठूलो देखिएको हो । हामीले भइराखेका नियम कानुनको परिपालना गर्ने तथा नभएका ऐन कानुनको निर्माण गर्ने र त्यसका आधारमा कार्यक्रमको कार्यान्वयन गर्ने गरेका छौं । सुशासन र पारदर्शिताका आधारमा काम गर्ने, औचित्यका आधारमा काम गर्ने गरेका छौं ।

 

प्रतिक्रिया