झगनखबर
फागुन १० । क्रिकेटर सन्दीप लामिछानेलाई जेल
बाहिरै बसेर मुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ । बिहीबार उच्च अदालत
पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको
पुनरावेदन गर्न अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले
जानकारी दिनुभयो । जिल्ला अदालत
काठमाडौंको आदेश बदर गर्न माग गर्दै पुनरावेदनका लागि बिहीबार पुगेका उनलाई अदालतले बाहिरै बसेर
मुद्दा लड्न लिखित अनुमति दिएको हो । कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट
सन्दीपले जेल बाहिर बस्न मुद्दा लड्न लिखित अनुमति समेत मागेका थिए ।
गत महिना कामाडौं जिल्ला अदालतले
सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको
इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो ।
परिवर्तित नाम गौशाला २६ द्वारा दायर
गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्याएर ८ वर्षको जेल सजाय सुनाएको
थियो । उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् ।
बलात्कार मुद्दामा दोषी ठहर भएसँगै उनले क्रिकेटबाट अलग हुने स्वघोषणा गरेका थिए ।
यसैबीच उच्च अदालत पाटनमा उनले दिएको पुनरावेदनको निवेदन दर्ता भएको छ । निवेदन
दर्तापछि सन्दीपलाई चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ ।