झगनखबर
असोज १हरितालिका पनि शिव पुराणको हिमालय
पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले
भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन यद्यपि तपको
विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान्
विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले
पहिले भगवान् विष्णुको प्रार्थना गरेको र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न
व्रत, उपासना
तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाएको पौराणिक कथन छ । हरिले दिएको
जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको
कुरा पुगोस् भनी वर दिएको बताइन्छ । हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको
सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरि तालिका
रहन गएको हो ।
हरितालिका तीजको व्रत
भाद्र शुक्ल तृतीयाको दिन हिन्दु
महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग
तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । पति
अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा
झर्छन् जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय
अर्चना गरिन्छ । आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । पार्वतीले शिवजी
वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको
जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष
भीड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति
हुने गर्छ ।