मोलुङ एक्वार सडक निर्माणमा चट्टान फोर्न नयाँ प्रविधिको प्रयोग


राजकुमार कार्की

 बैशाख २१ । मोलुङ एक्वार सडक निर्माणमा हरिबोले भिरको चट्टान कटान गर्न  नयाँ प्रविधिको प्रयोग गरिने भएको छ । लामो समय सम्म पनि चट्टान कटान गर्न नसकेपछि, चट्टान फोर्न नयाँ प्रविधिको प्रयोग  गरिने भएको हो । सुनकोशी गाउँपालिकाको वडा नं ६ काउसे देखि वडा नं ८  भाल्दीप आँपस्वारा सम्म ३ किलोमिटर नयाँ ट्रयाक बनाउनु पर्ने हो । दुवै तर्फ सडकको ट्रयाक बनाईसकिएको छ, हरिबोले भिरमा २०० मिटर चट्टानमा काम भईरहेको छ । उक्त चट्टानलाई लामो समय सम्म ब्रेकर लगाउदा पनि कटान गर्न नसकेकाले केमीकल प्रयोग गरि चट्टान फोर्ने प्रयास गर्न लागिएको छ । साइडमा कम्प्रेशर मेसिन ल्याईसकेकाले सकेसम्म छिटो चट्टानलाई ड्रिल गरी केमीकलको प्रयोग गरिने निर्माण कम्पनीका प्रोपाईटर तेज बहादुर भुजेलले जानकारी दिनुभयो ।

केमीकलले कसरी काम गर्छ <

ढुंगालाई कम्प्रेसर मेसिनले ड्रिल गरेर ५ देखि ८ फुट सम्मको प्वाल बनाईन्छ । ५ फिटको प्वालमा साँढे २ लिटर र ८ फिटको प्वालमा साँढे ३  लिटर केमीकल राखीन्छ । उक्त प्वालमा केमीकल राखेर १२ घण्टा  देखि ७२ घण्टा सम्म राखिन्छ । केमीकलले ढुंगालाई गलाएर चर्काउछ र ढुंगा टुक्रीन्छ । चट्टानलाई कति गहिराई सम्म चर्काउने फुटाउने हो सोई अनुसार नै (५ देखि ८ फुट) प्वाल  बनाउने गरिन्छ । प्वालमा  नाप अनुसारको केमीकल राखेर कम्तिमा १२ देखि बढीमा ७२ घण्टा सम्म राख्नु पर्ने ब्लास्टर राम प्रसाद पन्थीले जानकारी दिनुभयो  ।

सडक निर्माणमा यो प्रविधी ओखलढुंगा जिल्लामा पहिलो पटक प्रयोग गर्न लागिएको निर्माण कम्पनीले जनाएको छ  । केमीकलको प्रयोगबाट पनि चट्टान फुटाउन नसकेका खण्डमा भने ब्लास्टीङको प्रयोगका लागि आवश्यक प्रकृया अगाडी बढाउने प्रोपाइटर भुजेलले बताउनु भयो । सडक निर्माण सम्झौतामा ब्लास्टीङ आइटम नभएकाले  केमीकलको प्रयोग गर्न लागेको पनि जानकारी दिनुभयो ।

हर्कपुर देखि करिब ४ किलोमिटर मोलुङ दोभान सम्म पिच गर्ने र मोलुङ दोभान देखि अगाडी करिब साँढे २ किलोमिटर सम्म कटिङ गर्ने गरी महालक्ष्मी भुजेल जेभी निर्माण सेवाले सम्झौता गरेको हो । मिति २०७९ साल माघ महिनाको २३ गते सम्झौता भई २०८२ साल माघ महिनाको २३ गते सम्पन्न  गर्ने गरी करिब २५ करोड लागतमा सम्झौता भएको इन्जीनियर दिपक कुमार दासले जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा सडक निर्माण हुन लागेको हो ।

काम सुस्त गतिमा भएकाले हर्कपुर सडक कार्यालयलाई ताकेता पश्चात अहिले काम शुरु भएको  संघिय साँसद एवं राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताउनु भयो । उहाँले सडक निर्माणमा बजेटको चिन्ता नगरी आफ्नो निरन्तर काम  गरेर समयमै सकाउने गरी ध्यान दिन निर्माण कम्पनी र सडक कार्यालयलाई निर्देशन दिएको समेत बताउनु भयो ।

हरिबोलेभिरको चट्टान काटेर सहज गाडी सन्चालन भएपछि ओखलढुंगा सदरमुकामदेखि उदयपुरको घुर्मी जोडीन सबैभन्दा छोटो दुरीको सडक हुनेछ ।  यो सडक ओखलढुंगाको  हर्कपुर देखि रामपुर पात्ले हुँदै सोलु जिल्ला सम्म जोडीन्छ । अहिले सुनकोशी गाउँपालिकाको ८, भाल्दीप सम्मको ठेक्का लागेको हो ।  

प्रतिक्रिया