चितवनको पहिरोमा परेका दुबै बस त्रिशूलीमा खसेको आशंका, करिब साठी जना यात्रु बेपत्ता


२८ असार। नारायणगढमुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । दुइवटा बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान गरिएको छ ।

 चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

प्रमुख जिल्ला अधिकारीका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन । पहिरो पन्छाउँदै खोजी कार्य जारी भईरहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारमा ७५ जनाको खटाइएको र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको जनाएको छ ।

 

प्रतिक्रिया