फेदीगुठमा रहेका जागेश्वर महादेवको उत्पतिको कथा


राजकुमार कार्की

 मंसिर ९ । जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ४ स्थित जागेश्वर महादेवको मन्दिर रहेको छ । हरेक वर्षको बालाचतुर्दशीका दिन दिवंगत भएका आफन्तको नाममा बत्ति बाल्ने सतबिउ छर्ने गरिन्छ । त्यसै गरी मेला (बजार) लाग्ने र बजारमा रमाईलो गर्नेको घुइँचो हुने गरेको छ ।

फेदीगुठमा रहेका जागेश्वर महादेवको उत्पतिको कथा :

जिल्लाको पूर्वपश्चिम जोड्ने पैदलयात्रीको लागि मुलबाटो त्यहि रहेको छ । यो बाटोलाई जिल्ला सदरमूकाम आउने जानेको लागि सहज र  मुख्य बाटोको रुपमा लिने गरिएको छ । सडक सन्चालन नहुँदा पैदल यात्रीले यहि बाटोको प्रयोग गर्ने गरेका थिए । जुन बाटो अहिले पनि छदैछ । मूलबाटोको छेवैमा रहेको जागेश्वर महादेवको शिलामा यसरी पूजाराधना गर्न शुरु गरिएको किंवदन्ती रहेको छ ।

  परापूर्वकालमा ढाक्रेहरु सामान लिएर आउनेक्रममा विहानको खाना खाने बेलामा त्यहाँ आइपुगेका रहेछन् । ढाक्रेहरु बाटोमै खाना बनाएर खाने चलन रहेछ । पानी र रुखविरुवा भएको ठाउँ भएकाले त्यही खाना पकाएर खाने बिचार गरी खाना बनाउन शुरु गरेछन् । नजिकै मलायोगिरीको रुखको फेदमा एउटा ठाडो परेको ढुंगा रहेछ, त्यो ढुंगालाई एउटा चुल्हो र अरु दुईवटा ढुंगा राखेर भात पकाउन शुरु गरेछन् । जब आगो बालेर भातको भाँडो बसाएछन् तब त्यो भातको भाँडो घोप्टीएछ । अरु दुइवटा राखिएका चुलढुंगा डेक नचली अडिएका थिए । तर त्यो एउटा त्यहि रहेको चुलढुंगा ( महादेवको शिला) भने चलेर भाँडो लडेको थियो । पटकौँ पटक भाँडो बसाउँदा पनि लडेको लडेई गरेपछि ढाक्रे रिसाएर उक्त चुलढुंगोलाई पुनिउले हानेछन् । पुनिउले हानेपछि उक्त ढुंगाबाट रगतको धारा आएछ । त्यो देखेर ढाक्रेहरु भात नखाई उठेर हिडेछन् । करिब आधा घण्टाको उकालो पैदल यात्रा गरी एउटा ठुलो बरको रुखनिर पुगेर बसेका थिए । बस्नेबितिक्कै  पुनिउले हान्ने ढाक्रे ढली रगत छादेर त्यहि देह त्याग गरेछन् । ढाक्रेको अचानक मृत्यु भएपछि अरु ढाक्रे साथीहरुले हल्लाखल्ला गरे अनि स्थानियबासीहरु सहभागी भए । के भएर यस्तो भयो भनेर खोजी गर्दा उसका साथीहरुले खान बनाउने बेलामा भएको अनौठो घट्नाको बारेमा बाताएछन् । र स्थानियबासीहरु त्यहा गएर हेर्दा रगत आएको चिल्लो शिला देखेपछि यो महादेवको शिला हो भनी पूजाराधना गर्न शुरु गरिएको किंबदन्ती रहेको छ । अहिले महादेवको शिलाको शिरमा पुनिउँको डाँम (चोट) प्रष्टरुपमा  देख्न सकिन्छ ।


धार्मिक कथाहरुमा जागेश्वर महादेवको प्रसंग :

सत्य युगमा दक्षप्रजापतिकी जेठी सुपुत्रीको रुपमा सतिदेवीको जन्म भएको थियो । उहाँका थुप्रै दिदिबहिनीहरु पनि थिए । समय बित्दै जाँदा बहिनीहरुलाई तेतिसकोटी देवताले विहे गरे भने छोरा नभएका दक्षप्रजापतिले जेठी छोरी सतिदेवीलाई भने आफैसँग राख्ने विचार गरी विवाह गरेका थिएनन् । तेतिसकोटी देवताले विहे गरेको थाहा पाएपछि कैलाशपर्वतमा रहेका शिवले विहे गर्ने सोच बनाँई सतिदेवी माग्न गएका थिए । तर दक्षप्रजापतिले महादेवलाई छोरी सतिदेवी दिएनन् । छोरी नदिएपछि शिवले विष्णुलाई फेरी माग्न पठाए । विष्णुले छलगरेर आफुलाई भनि मागेर आए । विहेको दिन विष्णुले दक्षको आँखा छली कन्यादान दिनेबेलामा सतिदेवीको हात भिक्षुकरुप महादेवलाई सुम्पेका थिए । त्यो देखेर दक्षप्रजापति निकै रिसाएका थिए । समयक्रम सँगै दक्षप्रजापतिले लगाएको महायज्ञमा महादेव र सतिदेवी बाहेक सबै छोरी ज्वाँईलाई बोलाएका थिए । यो थाहा पाई सतिदेवी महायज्ञमा गई आफ्ना बाबुआमा सँग किन हामीलाई नबोलाएको भनि गुनासो गरीन् ! तर दक्षप्रजापतिले आफ्ना पति श्रीमहादेवलाई नाना थरीका गाली गरेको सहन नसकी सतिदेवीले महायज्ञको अग्नीकुण्डमा हाम फाली देहत्याग गरीन । त्यो थाहा पाएर श्रीहादेवले आफ्नी मृत पत्नी सतिदेवीको लास बोकेर भ्रमण गर्दा सतिदेवीको अंग जहाँ जहाँ पतन भए त्यहा त्यहा शिद्धपीठहरु उत्तपन्न हुँदै गए । त्यहि क्रममा मलायोगिरीमा सतिदेवीको आसन पतन भई जागेश्वर महादेव शिद्धपीठको उत्तपन्न भएको कथा छ । पृथ्वीलोकमा सतिदेवीको अंग पतन भएर ७ करोड ५० लाख शिद्धपीठहरु उत्तपन्न भएका छन् । ति  शिद्धपीठहरु मध्ये बज्रेश्वरी शिद्धपीठ श्रीजागेश्वर महादेवको उत्पन्न भएको हो । 


प्रतिक्रिया