भदौ १ । तनहुँको
शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई तीन
सय शैय्याको बनाउने प्रक्रिया अघि बढेको छ ।
अस्पतालमा तीन सय शैय्या थप गर्नेसम्बन्धी घोषणा स्वास्थ्य तथा
जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आइतबार गर्नुभएको थियो ।
सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा
स्वासप्रस्वाससम्बन्धी उपचार सेवाका लागि तीन सय शैय्याको डीपीआर अस्पतालका प्रमुख
डा. रामकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई
हस्तान्तरण गरेका छन् । डीपीआरमा साढे ५ अर्ब लागतमा निर्माण सम्पन्न हुने उल्लेख
छ । मन्त्री पौडेलले डीपीआरअनुसारको निर्माण अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध
गरेका छन् । दूतावासका तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको
सचिवालयले जनाएको छ ।
पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा
स्थापना भएको स्वासप्रस्वाससम्बन्धी देशकै एकमात्र विशिष्टिकृत अस्पतालमा हाल
त्यहाँ ५० जनरल वार्ड मात्र छन् । जसका कारण स्वासप्रस्वासका बिरामीको उपचार हुन
सकेको छैन ।
डीपीआर आएसँगै अस्पताललाई तीन सय शैय्याको र केन्द्रमा सेवा
विस्तार गर्न कोशेढुंगा भएको अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले बताउनु भयो ।
अब मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि श्रोत जुटाउने
अपेक्षा गरिएको बताउनु भयो । यसका लागि
परराष्ट्र र अर्थ मन्त्रालयमार्फत भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाइएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नै कार्यकालमा
अस्पतालको कामलाई गति दिने घोषणा गरेकाले यसैपाली विस्तारको काम अघि बढ्नेमा उत्साही
बनेको डा. श्रेष्ठले बताउनु भयो । अस्पतालले थप सात सय शैय्यासहित एक हजार शैय्या
बनाउने दीर्घकालिन लक्ष्य राखेको छ । यसका लागिसमेत थप पहल गर्ने मन्त्री पौडेलले
प्रतिबद्धता जनाउनु भएको छ ।