चम्पादेवीमा एउटै मन्दिरमा एघार देवी


मंसिर १२ । चम्वादेवी गाउँपालिका, ब्याँचुकस्थित ११ वटा देवीको एउटै मन्दिर रहेको छ । परापूर्वकाल देखि हाल सम्म विभिन्न समयमा ११ वटा देवी २ महादेव, बालाझाँक्री उतपन्न भएका हुन् । साथमा गंगाश्वरी   (गैँया गैँयीनी), कालीनाग र शिद्धसिकारी समेत रहेका छन् ।  परापूर्वकाल देखि मालिका, कालिका देवी उतपन्न भई पूजार्चना हुदै आएकोमा पछि अन्य देवीहरु पनि सँगै उतपन्न भएका हुन् । उक्त मन्दिरमा भएका देवीहरु यस प्रकार रहेका छन् । 

१. मालिका देवी २. कालिका देवी ३.चञ्चला जलकन्या देवी ४.सेतीदेवी ५. भवश्वरी देवी           ६. फुलमाला देवी ७. बनसकन्या कुमारी देवी ८. जलेश्वरी देवी ९. पञ्चकन्या कुमारी देवी        १०. सातकन्या देवी ११. कुण्डला देवी १२. कैलाश्वर महादेव १३. जलेश्वर महादेव १४. बालाझाँक्री १५. कालीनाग १६ सिद्ध सिकारी


स्थानिय शुरविर कार्कीका अनुसार, पहिले उत्पति भएका मालिका, कालिका देवी उत्पतिको किंवदन्ती :

बहादुर सिँह कार्कीको घरमा जयसिँह घर्तिको परिवार काम गर्न बस्दथे । उनिहरुले घर भित्र र बाहिरको काम गर्दथे । एकदिन जयसिँह घर्तीकी ९ वर्षिय छोरी माया घर्ती घर नजिकैको जंगलमा गाई चराउन गएकी थिइन । गाई चराउन गएकी माया बेलुका घर फर्कीइनन् । घर नफर्कीएपछि परिवारहरुले खोजी गर्न थाले । खोजी गर्ने क्रममा गाई चराउन गएको जंगलको पूर्वपट्टी केहि टाढाको जंगलमा बाघले खाएको अवस्थामा दाहिने हात र दाहिने खुट्टा भेटेछन् । खुट्टा हात धार्मिक परम्परा अनुसार संस्कार गरेछन् ।

 दिउँसो गाईहरु जंगलमा छोडेर भञ्ज्याङ्गमा एउटा तेर्साे भएर बसेको ढुंगामा सुतेकी थिइन् । त्यो ढुंगा अझै छ । सुत्नेबित्तिक्कै निदाएकी मायालाई बाघले घिसारेर लगेर सुतेको ठाउँभन्दा पूर्वतिरको जंगलमा लगेर खाएको किंबदन्ती छ  । उनै बाघले खाएकी माया घर्ती समयक्रम बित्दै जाँदा मालिका देवीको रुपमा उतपन्न भई पूजाराधाना हुँदै आएको छ । स्थानिय भक्तविर कार्कीको शिरमा चढी कम्प दिईन र बाघले खाएकै ठाउँमा कैलाश्वर महादेवलाई साथमा लिई उत्तपन्न भएकी हुन् । सोई ठाउँमा माया घर्तीकी आफ्नै बहिनी पनि कालिका देवीको नाममा उतपन्न भएकी छन् । कालीका देवीलाई चाहिँ कम्मर पाठी भोग दिने चलन थियो । मालिका देवीले भने भोग नखाने भएकाले धुप, दिप, फुलअक्षताले पूजाराधना गर्ने चलन छ ।

मालिका र कालीका देवीको शिला नजिकै रहेको छ । एकदिन कालिका देवीलाई पाठी भोग दिने क्रममा पाठीको रगतको छिटा मालिका देवीलाई परेछ । पाठी पूजा गर्दा मालिका देवीलाई रगतको छिटा परेको बेला तत्कालै पूजा गर्ने घरकी अन्दाजी १४÷१५ वर्षकी छोरी सुनिता कार्की नजिकैका खानीको पाखाबाट लडेर घट्नास्थलमै मृत्यु भएको भन्ने भनाई छ । साथै उक्त दिनदेखि सो ठाउँमा दिउँसै बाघ कराउने, घरगोठमा आउने, गाईबाख्रालाई आक्रमण गर्ने मार्ने गर्न थाल्यो । गाईबाख्रा त्यत्तिकै पनि मर्न थाले, नागहरु निस्कने घरगोठ वरीपरी घुम्ने जस्ता घट्नाहरु घट्न थाले । त्यसपछि मालिका देवी सँग माफी मागी कालीकादेवीलाई सामुन्ने पारीपट्टी खाल्टेमा कालीकादेवीको स्थापना गरी भोग दिन भोग दिन शुरु गरेपछि बाघ र नागहरु आउन छोडी नागरिकको जीवस्तर सामान्य रुपमा फर्केको किंबदन्ती रहेको छ । उक्त मन्दिरमा स्वच्छ मनले दर्शन, पूजाराधना गर्दा मनोकाङक्षा पुरा हुने भनाई छ । त्यहा दर्शन गरेर स्वच्छ मनले मागेको एउटै वस्तु चिताएको पुगेको स्थानिय दर्शनार्थी बताउछन् । पुजाराधना गर्दा विशेष गरी धनसम्पति बृद्धि भएको पनि बताउने गरेका छन् ।   हरिबोधनी एकादशी देखि पञ्चमी देखि विशेष मेला पुजाराधना गर्ने चलन रहे पनि साउन महिना बाहेक अरु बेलामा पनि पुजाराधना गर्ने  गरेका छन् ।

प्रतिक्रिया