पूर्व प्रधानमन्त्री एवं ने.का सभापति देउवाद्वारा 'वीपी स्मृति भवन' उद्घाटन गरिने


झगनखबर

मंसिर १८ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार  ओखलढुंगा आउने हुनुभएको छ । नेपाली कांग्रेस ओखलढुंगाको नवनिर्मित वीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न आउन लाग्नु भएको हो । भवन उद्घाटन गर्न सभापति देउवा सहित महामन्त्री गगन कुमार थापा, नेता शेखर कोईराला, केन्द्रीय सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, केन्द्रिय सदस्य एवं कोशी सभा सदस्य प्रदिप कुमार सुनुवार, कोसी प्रदेश सभापति लगायत पदाधिकारीहरुको उपस्थिती रहने जिल्ला कार्यसमिति ओखलढुंगाले जनाएको छ । बी.पी स्मृति भवन उद्घाटन पछि जिल्ला समन्वय समितिको प्राङगणमा जिल्ला सम्मेलनको उद्घाटन गरिने पार्टी सभापति तेजेन्द्र खनालले जानकारी दिनुभयो । मंगलबार हुने कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । पूर्व प्रधान मन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत केन्द्रीय कार्यसमितिको जम्बो टिम ओखलढुंगा आउने भएपछि बी.पी.स्मृति भवन लगायत बजारलाई सिँगारिएको छ । मिलचोक, रमाईलोडाँडा, रामबजर, हुलाक डाँडा, गणेश मन्दिर (घण्टाघर) जिविस टोल लगायतका ठाउँहरुमा तुल ब्यानरले सजाईएको छ ।


पार्टी सभापति देउवा पहिलोपटक जिल्ला आउने भएपछि भब्य तयारी  गरिएको छ । यो भब्य र महान कार्यक्रममा जिल्ला स्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, भातृ तथा भगीनी संस्थाका पदाधिकारीहरु लगायत पार्टीमा आस्था राख्ने सम्पुर्ण महानुभावहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गरिदिन हुन पार्टी सभापति तेजेन्द्र खनालले आग्रह समेत गर्नु भएको छ ।

 

प्रतिक्रिया