१६५ रोपनी जग्गामा स्याउ खेती, यो वर्षबाट फल्न शुरु

 झगनखबर

जेठ  ३० । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं ८ स्थित पत्तालेमा शुरु गरिएको स्याउ खेती यो वर्षबाट फल्न शुरु गरेको छ । २०७८ सालबाट शुरु गरिएको स्याउ खेति यो वर्षबाट फल्न शुरु गरेको हो । एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलपमेन्ट प्रा.लि.ले १ सय ६५ रोपनी जग्गामा स्याउ खेती शुरु गरेको थियो । शुरुको वर्ष १८ हजार विरुवा रोपिएको थियो भने यो वर्ष २ हजार थप नयाँ विरुवा रोपिएको छ । अहिले सम्म २० हजार स्याउका विरुवा रोपीसकिएको छ ।  दुई वर्ष अगाडी रोपिएको विरुवा गत वर्ष देखि नै सामान्य फल्न शुरु गरेको थियो भने यो वर्ष देखि राम्रो फल्न शुरु गरेको कम्पनीका अध्यक्ष कृष्ण केसीले जानकारी दिनुभयो । 

कम्पनीको नाममा रहेको ३६ रोपनी जग्गा र १ सय २९ रोपनी भाडामा गरी जम्मा १ सय ६५ रोपनी जग्गामा स्याउको विरुवा लागाईएको छ । फुजी, गाला, किंस रोड, रेड डेलीसस जातका विरुवाहरु रोपिएका छन् । सबै विरुवाहरु इटलीबाट ल्याईएको हो । सबै विरुवाहरु हुर्किएर फल्न थालीसकेका छन् । स्याउको फुल खेल्ने तथा फल्ने समयमा असिनाको नोक्सान बाट जोगाउनको लागि हेलनेट (असिनाको आवरोध हटाउने जाली) को प्रयोग गरिएको छ । बैशाख र जेठ महिनामा अधिक्तम असिना पर्ने महिना भएकाले यि दुई महिनामा सबै स्याउका विरुवालाई हेलनेटले छोप्ने गरिएको छ । असिनाको मौसम हटेपछि  हेलनेट (जाली)  हटाउने गरिएको छ । घाम र पानीमा पनि ५÷६ वर्ष भन्दा बढी खप्ने भएकाले टनेल माथी नै राख्ने गरेको बताएका छन् । हेलनेट नेपालमा नपाउने भएकाले भारत बाट खरिद गरी ल्याएको सदस्य राम बहादुर मगरले बताउनु भयो । 

सबै विरुवाहरुलाई थोपा सिँचाइएको व्यवस्था गरिएको छ । प्लाष्टिक पोखरीमा जम्मा गरिएको पानी मेसिनको प्रयोगबाट क्लष्टरवाइज पानी वितरण गरिने गरेको बताएका छन् ।  मासिक तलब खाने गरी ४ जना कर्मचारी नियमित काम गरिरहेका छन् । उहाँहरुले विरुवाको रेखदेख गर्नुका साथै गोडमेल गर्ने, विरुवालाई कलर गर्ने, हाँगा भाँचिएको ठाउँमा औषधी लगाउने, विरुवाहरुको बिचमा भएको खाली जग्गामा आलु, काउली, बन्दगोभी, साग लगायत तरकारी बाली पनि लगाउने गरेका छन् । स्याउको साथसाथै तरकारीबाली बाट पनि राम्रो आम्दानी गर्न सकिने सदस्य मगरको भनाई छ । 

 स्याउ उत्पादनको लागी चिसो ठाउँ उयुक्त हुने भएकाले २ हजार मिटर भन्दा माथीको उचार्इँमा रहेको भुगोललाई राम्रो मानिन्छ । वार्षिक सालाखाला १०० घण्टा भन्दा बढी चिलिङ्ग टेम्प्रेचर (चिस्यान) भएको जमिन स्याउका लागी उपयुक्त हुने कृषी ज्ञानकेन्द्र ओखलढुंगाका वागवानी विकास अधिकृत टिका बाँनियाले बताउनु भयो । उहाँका अनुसार; ‘हावा पानीकै कारण स्याउमा कलर आउने, खाँदा रसीलो र मिठो हुने भएकाले हाईडेन्सीटी स्याउका लागी उपयुक्त हावापानी हो ।

सोलुदुधकुण्ड नगरपालिका वडा नं ८ मा पर्ने उक्त स्थान  समुन्द्री सतह देखि २ हजार ८ सय मिटर उचाईमा पर्दछ । गत वर्ष ४ सय के.जी. भन्दा बढी बिक्री वितरण गरिएको र उपभोक्ताबाट राम्रो रेसपोन्स आएकाले यो वर्ष धेरै भन्दा धेरै उत्पादन र बिक्री हुनेमा ढुक्क रहेको अध्यक्ष केसीले बताउनु भयो । कलर आएका स्याउलाई १ नम्बर, २ नम्बर गरी छुट्याउने र बजार  पठाउने, बाँकी रहेका तेश्रो, चौथो नम्बरको स्याउको प्रयोग गरेर एप्पल वाइन, एप्पल साइडर, र जुस बनाउने केसीले बताउनु भयो । स्याउको जुस र वाइन बनाउनको लागी ५४ रोपनी जग्गा खरिद गरी घडेरी बनाईसकिएको र अब तत्काल भवन बनाउने योजना भएको पनि सन्चालक समितिले बताएका छन् ।

५ करोड भन्दा बढी लगानीमा शुरु गरिएको उक्त स्याउ फर्ममा सनराईज बैँकबाट २ करोड सहुलियत ब्याजको रिण, कृषी आधुनिकिरण कार्यक्रम बाट ९८ लाख अनुदान र बाँकी सन्चालक समिति सदस्यबाट शेयरको रुपमा लगानी गरिएको छ ।

 

प्रतिक्रिया