झगनखबर
चैत १० । चुनावमा प्रतिबद्धता गरेका योजनाहरु पुरा गर्न लागीपरेको संघिय माननिय रामहरि खतिवडाले बताउनु भएको छ । मोलुङ एक्वारको सडकको शिलान्यास गर्दै खतिवडाले यस्तो बताउनु भएको हो । उदयपुरको घुर्मिदेखि शुरु भएको मोलुङ एक्वारको सडक बजेट अभावमा अपलपत्र अवस्थामा परेको थियो । सडक निर्माण कार्य हुँदाहुदै बजेटको अभावका कारण निर्माण अबरुद्ध भएको थियो । भौतिक पुर्वाधार मन्त्रालयबाट १ करोड ७५ लाख रकम बिनियोजन र योजना सम्पन्न गर्न श्रोत सुनिश्चता भएपछि शनिबार सडक निर्माणको शिलान्यास गरिएको छ । संघिय माननिय एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शिलान्यास गर्नु भएको हो । शिलान्यास कार्यक्रममा बोल्दै खतिवडाले आफुले चुनावमा प्रतिबद्धता गरेका योजनाहरु ७५ प्रतिशत भन्दा बढी सम्पन्न हुनलागेको बताउनु भयो । लिखु एक्वार, दुधकोशी एक्वार सडक निर्माण सम्पन्न भई गाडी चल्न शुरु भएको त्यसै गरी साँघुटार घोराखोरी सडक कालोपत्रे रानीवन सम्म सम्पन्न लगायतका योजनाहरु सम्पन्न भईसकेको बताउनु भयो । भुकम्प पिडितले पाउनु पर्ने राहत रकम नपाईरहेको अवस्थामा आफुले चुनाव जितेपछि १८ करोड रकम छुट्याएको बताउनु भयो । रामपुर श्रीचौर सडक कालोपत्रेका लागि ३२ करोड छुट्टिएको पनि बताउनु भयो ।
मोलुङ एक्वारको सडक सुनकोशी गाउँपालिकाको वडा नं ८ स्थित काउछेमा पुगेर रोकीएको थियो । शनिबार सुनकोशी ८ कै अँधेरी तर्फबाट सडक निर्माणको शिलान्यास भएको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिका स्वकीय सचिव हुकुम राईले जानकारी दिनुभयो । मोलुङ एक्वारको सडक निर्माण सम्पन्न भई सन्चालनमा आएपछि ओखलढुंगा सदरमुकाम लगायतका ठाउँका नागरिकहरुलाई राजधानी जोड्ने छोटो सडक हुनेछ । उक्त सडक जोडिने भएपछि स्थानियबासी खुशी भएका छन् ।