कार्तिक ७ । दीपावली अर्थात्
उज्यालोले भरिएको खुसीयालीयुक्त तिहार, एउटा विशेष
ऊर्जासहितको उमङ्गमय चाड । हिउँदका सुरुवाती दिनहरूको प्रतिनिधित्व गर्ने यो पर्व
झिलिमिली बत्तीहरूको चाडका रूपमा पनि परिचित छ । पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्ध मिश्रीत वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो
पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ ।
मानव सभ्यताको हरेक
खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा परिचित
छ, कुकुर । आज
कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पुजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष
महत्त्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार
जीवको रुपमा रहेको छ ।
ऋग्वेदमा कुकुर
ऋग्वेदमा स्पष्ट रूपमा समरा,को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दु परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।
महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्ग को प्रतिनिधिका रूपमा लिइन्छ । तन्त्र साधक निडर भगवान् भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ ।
आज यिनै कुकुरहरूको
पूजा गरिने दिन हो । आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी माला लगाईदिने, मिठो मिठो परिकार बनाई खान दिने
चलन छ । आफ्नै घरमा पालेको कुकुर, आफ्नो घरमा पालेको
नभए अन्य आफन्तको घरको कुकुरलाई सयपत्री फूलको माला लगाई खान दिने चलन छ । यसरी
बिधिवत रुपमा कुकुरको पूजा गर्दा
मानिसहरूलाई पुण्य प्राप्त हुने जनश्रुति छ । मानव समाज र कुकुरहरूको बलियो
र पुरानो सम्बन्ध छ । आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ । आज घरपालुवा मात्र नभई
सडकका कुकुरहरूलाई पनि माला पहिराइ, अबिरको टिका लगाई
खाना खान दिने गरिन्छ । यसरी फूलको माला लगाइदिनाले माला पहिराउने यो विशेष
कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्त्व दिएको मानिन्छ यस अर्थमा
आज कुकुरहरूप्रति समर्पित दिन हो ।
आजको दिन कुकुरलाई
खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्ड भोगी हुन्छ भन्ने मान्यता रहिआएको छ ।
यसर्थ बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ ।
सनातन धर्म एकदमै
पृथक् छ र त्यत्तिकै वैज्ञानिक पनि छ । यसका संस्कारका आधारहरू, प्रकृति, प्रेम अनि मानवतालाई
अत्यन्त विशिष्ट स्थान दिएको अनि हरेक प्रकृतिका सृजनाहरूमा इश्वरत्व अनुरूप
व्याख्या गरिएको छ ।
मानव व्यवहार एउटा ऐनाजस्तै हो, हामीले जस्तो व्यवहार गर्छौ त्यस्तै प्रतिविम्बस्वरुप व्यवहार पाँउछौ । यस पृथ्वीका हरेक जनावरहरूलाई हाम्रो माया र सदाचारको खाँचो छ र शायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यही ज्ञान दिन खोजेको हुनुपर्छ । विज्ञानले पनि पारिस्थितकी तन्त्र का रूपमा हरेक प्राणीहरूको अस्तित्व एक अर्कासँग सम्बन्धित देखाएको छ ।
नरक चतुर्दशी
आखिर जन्म र मरण
पछिका सनातन विश्वासहरूमा सदैव आउने कुरा नै स्वर्ग र नर्क हो । राम्रो कर्म गरेमा स्वर्ग जाने र नराम्रो
कर्म गर्दा नर्क जाने जनमान्यता छ । यो सनातन दर्शनमा मात्र नभई लगभग हरेक धर्म र
विश्वासमा पाइने तर्क हो । नर्क कसैको रोजाई मा पर्दैन किनभने नर्कमा अनेक सास्ती
र दुख्नका भोगाई रहने विश्वास गरिन्छ ।
वैतरणी नदी तरेमा मात्र स्वर्ग पुगिन्छ भन्ने मान्यता छ । नरक चतुर्दशी मात्र यस्तो तिथि हो जहिले नर्कको उपस्थिति र केही हदसम्म नर्कको महत्त्व पनि बयान गर्दछ । नर्क बिनाको स्वर्गले खासै मान्यता राख्दैन, नर्क चतुर्दशी ले यस कुरालाई सबैलाई विचारयोग्य बनाएको छ ।
नरके भनेको के हो ?
यस चतुर्दशी ले हरेक
मान्छेलाई नर्कमा नजानका लागि सत्कर्मको बाटो अवलम्बन गर्न पैरवी पनि गर्दछ । यस
दिन नर्के नुहाउने चलन हुन्छ, तिलको तेल दलेर
जलाशयमा नुहाउनुलाई नर्के नुहाउने भनिन्छ, कार्तिकको यस मन्द
जाडोमा नुहाएपछि तिलका झिँगटाहरु बालेर ताप्ने चलन छ । आजको दिन बिहानै
अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप
दक्षिण फर्काइ बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुपर्ने धार्मिक विश्वास छ
। यसरी बत्ती बालेर बगाउने कार्यलाई नरके बगाउने भनिन्छ।
स्नान गर्दा हरेक पल
नर्क नजानका लागि सत्कर्म गर्ने तत्परता र धर्मको पथमा हिँड्ने वचनलाई आत्मसाथ
गरिनुपर्दछ । भन्ने नै हो भनेँ नर्क र स्वर्ग पृथ्वीमा नै छ, नर्क चतुर्दशी ले सबैलाई कर्मको पथमा सत्यले डोर्याउन सकोस् ।