जनै वा यज्ञोपवीत र राखी किन लगाउने गरिन्छ


साउन ३ । मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुई वटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

जनै वा यज्ञोपवीत को महत्त्व

ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"

अर्थात्:
"
जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।

राखी लगाउने चलन

यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।

रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, "रक्षा" र "बन्धन"। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ "सुरक्षाको गाँठो" हुन्छ। यो चाड दाजुभाइ-दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ। त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन्।

ऋषितर्पणी
यस दिन स्नान गरी सप्त ऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तर्ने त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्त ऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

सनातन धर्मका अनुयायीहरू सबैका पुर्खाहरू ऋषिहरु भएको र यही अनुरूप सबैको गोत्र पनि तिनै ऋषि हरुको नाम अनुरूप तय गरिएको छ । यस अर्थमा आजका दिन दिइएको तर्पण हाम्रा अनन्य पुर्खाहरूको सम्झना र आफ्नो कुल परम्परा अनि संस्कारको समानार्थक दिइएको हो ।

प्रतिक्रिया