सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर


ओखलढुंगा ७, बैशाख । ओखलढुंगा जिल्लाको विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ११ र १२, लिखु गाउँपालिका वडा नं ३, चम्पादेवी गाउँपालिका वडा नं. १० को सामुदायिक वनमा लागेको आगो नियन्त्रण भन्दा बाहिर गएको छ । लिखु गाउँपालिका वडा नं. ३ को चिउरी डाँडास्थित पँहेले सामुदायिक वनमा लागेको आगो अनियन्त्रित हुदा स्थानिय २ घर जलेर नष्ट भएको छ । चिसंखुगढी गाउँपालिका वडा नं ८ स्थित भालुखोप सामुदायिक वनमा बैशाख २ गते बाट लागेको आगो ७ गते बिहिबार मात्र नियन्त्रणमा आएको थियो ।  सुनकोशी गाउँपालिका वडा नं ९ स्थित ककनीको फलाङटार सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको छ । मोलुङ  गाउँपालिका वडा नं ४ हर्कपुर स्थित भदौरे सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको छ । चिसंखुगढी गाउँपालिका वडा नं. ४ स्थित सिन्दुरे पाखा सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरीले जनाएको छ  । सिद्धिचरण नगरपालिका वडा नं ११ स्थित तामाखैरे सामुदायिक वनमा लागेको आगो नियन्त्रण भन्दा बाहिर गएकोले सदरमुकामको रामबजार जोखिममा परेको स्थानियले बताएका छन् । स्थानियबासी र सुरक्षा निकायहरु सबैजना आगो नियन्त्रण गर्न खटिरहेको बताएका छन् । उक्त जंगलमा ६ गते बुधबार बाट आगो लाग्न शुरु भएको थियो । त्यसै गरि सिद्धिचरण नगरपालिका वडा नं ९ बाट शुरु भएको आगलागि सिद्धिचरण १२ को सामुदायिक वनमा बिहिबार प्रबेश गरेको छ । रातिको समयमा प्रबेश गरेको आगो नियन्त्रण गर्न कठिनाई भईरहेको छ । कठिनाईको बावजुद स्थानियबासीहरु राति पनि आगो नियन्त्रणमा लिने प्रयासमा छन् । नगरपालिकाका २ वटा दमकल र सोलुबाट २ वटा दमकल ल्याई नियन्त्रण लिने प्रयास गरे पनि हावा चलेका कारण नियन्त्रण गर्न कठिनाई भईरहेको छ । बिहिबार राती पनि स्थानियबासीहरु जंगलमै आगो नियन्त्रणमा लिने प्रयासरत रहेका छन् । घना जंगल भएका कारण रातीको समयमा दमकलको प्रयोग गर्न सम्भव छैन ।

प्रतिक्रिया