राजकुमार कार्की
माघ १५ । जिल्लामा भएका श्रृंखलाबद्ध
लुटपाट पश्चात हत्या गरेको आरोपमा पक्राउ गरिएका गिरोह पूर्पक्षका लागि कारागार
चलान गरिएको छ । जिल्ला अदालत ओखलढुुंगाको माघ १५ गतेको आदेश अनुसार आरोपी ४
जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो । प्रतिबादीहरुलाई कर्तब्य ज्यान
तथा डाका चोरी मुद्दा चलाईएको छ ।
हत्यारोपमा, ओखलढुंगा जिल्ला चिशंखुगढी–३ दियालेका २८ वर्षीय
मिलन भन्ने संगम राई र चिशंखुगढी–४, रातमाटेका ३० वर्षीय विनोद राईलाई पुस १८ गते
पक्राउ गरेको थियो । त्यसैगरी रातमाटेकै ३० वर्षीय प्रकाश भुजेल र चिशंखुगढी–८, माम्खाका ३० वर्षीय
दोर्जे भन्ने अशोक भुजेललाई पुस १९ गते पक्राउ गरिएको थियो । चारैजनालाई जिल्ला
अदालत ओखलढुंगाको आदेशले बिहिबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय
ओखलढुंगाले जानकारी दिएको छ ।
असोज २६ गते राती सिद्धिचरण नगरपालिका–४, चार्खुमा एकल महिला
५२ वर्षीय रत्नकुमारी कटवाल (कार्की) को लुटपाट पश्चात हत्या गरिएको थियो । त्यसको
३ महिना १७ दिनमा अरु दुई दम्पतिको घरमा लुटपाट पश्चात हत्या गरिएको छ । पुस १५
गते राती चिशंखुगढी गाउँपालिका–६, भदौरे गैरी गाउँका ६० वर्षीय सोभितमान थापा मगर र
उहाँकी श्रीमति ६० वर्षीय रत्न माया थापा मगरको लुटपाट पश्चात विभत्स हत्या गरिएको
थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, चार्खुमा हत्या
गरिएको एकल महिलाबाट नगद र सुनका गहना समेत लुटेर लगेका थिए । भदौरेमा हत्या
गरिएका मगर दम्पतिबाट पनि १ लाख नगद सहित काँचो २ तोला समेत गरी जम्मा ६ तोला सुन
लुटिएको थियो । त्यसैगरी भदौरेकै अर्काे घट्नामा पनि हत्याको प्रकृति एउटै भएको र
कानमा लगाएको गहना समेत लुटिएको प्रहरी नायव उपरिक्षक मदन केसीले बताउनु भयो ।
घट्नामा संलग्न आरोपीहरु बाट, चार्खु हत्यामा प्रयोग भएको बन्चरो १ थान, मृतक रत्न कुमारी कटवालबाट लुटिएको सुन गालेर बनाएको ५.८० ग्राम भएको रिङ १ थान, दाप सहितको खुकुरी १ थान, र भदौरे गैरीगाउँबाट लुटिएको रु १०० को रिचार्ज कार्ड (विनोद राईको खल्तिमा), भरुवा बन्दुक २ नाल, मोबाईल ४ थान प्रतिबादीहरुको साथबाट बरामत गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।