जघन्य अपराध गर्नेलाई मृत्युदण्डको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र


राजकुमार कार्की

 माघ १७ । जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई मृत्यु दण्डको सजाय हुनुपर्ने माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । चिशंखुगढी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष बलराम कटवालले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउनु भएको हो । भदौरेमा केहि समयदेखि श्रृंखलाबद्ध रुपमा लुटपाट र  हत्याका घट्ना घटिरहेका कारण स्थानीयबासी त्रसित छन् । करिब एक महिना भित्र चारजना बृद्ध दम्पतिको लुटपाट पश्चात विभत्स हत्या गरिएको छ । पछिल्लो समय माघ १३ गते ८१ वर्षीय चन्द्रविक्रम राई र उहाँकी धर्मपत्नि ८० वर्षीय चन्द्रमाया राईको लुटपाट पश्चात हत्या गरिएको थियो । हत्यामा संलग्न अपराधीहरुको खोजी गरिरहेको भएपनि अपराधी पत्ता लाग्न सकेको छैन ।

शान्तिसुरक्षा कायम तथा अपराधीलाई हदैसम्मको कारवाहिको माग गरिएको ज्ञापन पत्रमा भनिएको छ; ‘यस्ता जघन्य अपराधमा  संलग्न अपराधिहरुलाई निमिट्यान्न पार्नका लागि कानूनमै मृत्युदण्डको व्यवस्था गर्ने । सो कार्यका लागि सम्माननीय प्रधानमन्त्री ज्युको पहलकदमी एवं पैरवीमा संघीय संसद मार्फत कानून संशोधनको प्रस्ताव पारित गर्ने ।’

श्रृंखलाबद्ध लुटपाट र हत्याका घट्नाले नागरिकमा सन्त्रास फैलिएको भन्दै वडा कार्यालयले शान्ति सुरक्षाका लागि अस्थाई पोष्ट खडा गरी सुरक्षाका तीनै युनिटका सुरक्षाकर्मी मार्फत सुरक्षाको प्रत्यभूत गर्न समेत माग गरिएको छ । वडाअध्यक्ष बलराम कटवालको हस्ताक्षर भएको ७ बुँदे माग सहितको ज्ञापन पत्रमा ‘आम वडाबासी नागरिकहरु एवं पिडित परिवारहररुको प्रतिनिधित्व गर्दै यस वडा कार्यालयको तर्फबाट श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यु मार्फत सम्माननी प्रधानमन्त्री ज्युलाई समाजमा शान्ती सुरक्षा तथा अमन चयन कायम राख्नका खातिर उल्लेखित मागहरु सम्बोधन गर्दै अल्पकालीन एवं दिर्घकालिन सुरक्षा रणनीति तयार पारी अविलम्ब कार्यान्वयन गर्न एवं गराउनु हुनको लागि यो ज्ञापन पत्र बुझाइएको छ ।’ भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातिलाई ज्ञापन पत्र बुझाउदै अध्यक्ष कटवालले नेपाल भन्ने  देशमा मृत्युदण्डको सजाय कानूनमै विधिवत रुपमा लेखेर प्रयोगमा ल्याइएको हुन्थ्यो भने, सायद यसरी श्रृंखलाबद्ध रुपमा हत्या गर्ने मान्छेमा आँट आउदैनथ्यो होला ! त्यसैले राजनीतिकर्मी, मानवअधिकार कर्मी, प्रतिनिधीसभामा निर्वाचित भएर जाने माननीयहरुले कानूनलाई संशोधन गरेर जघन्य अपराध गर्ने अपराधीलाई मृत्युदण्डको व्यवस्था गरिनुपर्ने बताउनु भयो ।

पुस १५ गते  भदौरेको गैरीगाउँमा ६० वर्षीय सोवितमान थापामगर र उहाँकी श्रीमति ६० वर्षीय रत्नमाया थापा मगरको लुटपाटपछि हत्या गरिएको थियो ।  असोज २६ गते सिद्धिचरण नगरपालिका ४ चार्खुमा एकल महिला रत्न कुमारी कटवाल (कार्की) को पनि लुटपाट पछि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चारजना युवा, मिलन भन्ने संगम राई, विनोद राई, प्रकाश भुजेल र  दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाईएको छ । यि विभत्स हत्याको घट्ना सेलाउन नपाउदै 

भदौरेको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उहाँकी धर्मपत्नि  अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको लुटपाट पश्चात विभत्स हत्या गरिएको थियो । राज्यले शान्तिसुरक्षाको प्रत्याभुत नगरेसम्म राई दम्पतिको शव नबुझ्ने परिवारले श्रोतले जानकारी दिएका छन् । दम्पतिको शव जिल्ला अस्पताल रुम्जाटारमा राखिएको छ । अपराधमा संलग्न अपराधीहरुको खोजी कार्य निरन्तर भईरहे पनि अझै सम्म अपराधी पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया