पुस ७ ।
लहलह गहुँ झुल्ने बेला, खेतमा ढुंगा र बालुवाको गेगर जम्मा भएर बसेपछि बलखुबेँशीका किसान यतिबेला
चिन्तामा रहेका छन् । वर्षमा तीन कमाई हुने उर्बर खेत सुनकोशीको बाढीले बगरमा
परिणत गरेपछि सुनकोशी गाउँपालिका १, २, ४ का किसानहरु चिन्तामा रहेका हुन् । यतिखेर
बेँशीका खेतहरुमा लहलह गहुँ झुल्ने बेलामा बलखुबेँशीका खेतमा भने ठुलाठुला ढुंगा
माटो र बालुवाले खेत भरिएको छ । न त ढुंगा पल्टाउन सकिने अवस्था छ, न त बालुवा नै
सोहोर्न सक्ने अवस्थामा छ । किसानहरु बिहान बेलुका त्यहि ढुंगा र बालुवाले भरिएको
बगर हेरेर बस्न बाध्य छन् ।
हरेक वर्ष सुनकोशी
नदिमा आउने बाढीले सामान्य क्षति सहित
बगेर जाने गरेको थियो । तर यो वर्ष सुनकोशी नदिमा बाढी बगेर मात्रै गएन, सयौँ किसानहरुको सपना
समेत बगाएर लगेको छ । गत असोज ११ र १२ गते आएको सुनकोशी नदिको बाढीले सयाँै
किसानहरुको खेत बगाएर लगेको छ । धान पाकेर काट्ने बेला हुन लागेको खेतमा बाढी पसेर
सखाप पारेपछि अब त्यसरी नै धान, मकै, गहँु, आलु जस्ता कृषी उपजहरु लगाउन सकिएला की
नसकिएला किसानहरु चिन्तामा छन् ।
सुनकोशी गाउँपालिका
वडा नं १,
२, ४ का किसानहररुको ६
सय रोपनी भन्दा बढी खेतमा क्षति गरेको छ । १ सय ५० घरधुरी भन्दा बढी किसानको खेतमा
ढुंगामाटो र बालुवा थुप्रिएर बसेको वडा नं १ का वडाध्यक्ष प्रकाश सापकोटाले
जानकारी दिनुभयो । किसानहरुको सामान्य तागतले खेत बनाउन सक्ने अवस्था नरहेको पिडित
किसानहरुले बताएका छन् । खेतमा जम्मा भएको ढुंगा बालुवा फाल्नको लागि सरकारले
सहयोग गर्नुपर्ने किसानको माग रहेको छ ।
पालिकाको पहलमा
डोजरले ढुंगामाटो फाल्ने काम शुरु भएको छ । असार सम्ममा सबै किसानको खेत धान रोप्न
सक्ने बनाउने गरी पालिकाले काम शुरु गरेको सुनकोशी गाउँपालिकाका प्रमुख कमल
तामङ्गले बताउनु भयो । उहाँले भन्नुभयो; 'डोजरले ढुगा बालुवा फाल्ने काम शुरु भएको छ
। ३ ठाउँमा तीनैवटा डोजर लगाएर सकेसम्म छिटो काम गरी खेत बनाउन हामी लागिरहेका छौँ
। धान रोप्ने बेलासम्म जसरी पनि किसानको क्षतिग्रस्त खेत बनाइसक्छौ ।’
प्राथमिक ब्यवस्थापन
(बाटो,पानी, बिजुली निर्माण) गर्न
संघ सरकारबाट ५० लाख रकम आएको छ । त्यो भन्दा बाहेक केहि सयोग नआएको बताउदै
किसानको खेत निर्माणको लागि पालिकाले सबै खालको सहयोग गर्न तयार भएको पालिका
प्रमुख तामङ्गले बताउनु भयो । अहिले
पालिकाले तेल हाल्ने गरी तीनवटा
डोजर भाडामा लिएर काम शुरु गरिएको छ ।
नागरिकहरुको खेतमा
भेल पसेर खेत क्षति भएको छ, अहिले तत्काल पुरिएको खेतलाई बालुवा ढुंगा पन्छाएर खेतियोग्य बनाउने र
तटबन्ध निर्माण गरी सुरक्षीत बनाउनु पर्ने टड्कारो आवश्यक भएको नवनिर्वाचित जिल्ला
समन्वय समितिका प्रमुख टेकराज भट्टराईले बताउनु भयो । उहाँ निर्वाचित
हुनेबित्तिक्कै क्षतिग्रस्त खेतको अनुगमनमा जानुभएको थियो । समन्वय प्रमुख
भट्टराईले पिडित किसानहरुलाई शान्त्वना
दिँदै राज्यका विभिन्न तहसँगको समन्वयमा क्षतिग्रस्त खेत निर्माण तटबन्ध निर्माण
गर्न पहल गर्ने बताउनुभयो ।