राजकुमार कार्की
ओखलढुंंगा जेठ १३ ।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ७ माझीगाउँस्थित सुनकोशी नदिमा हामफालेर
बेपत्ता भएका ब्यक्तिको शव रौतामाई गाउँपालिका स्थित सुनकोशी नदिमा भेटिएको छ ।
उदयपुर जिल्लाको रौतामाई गाउँपालिका ५ चनौटेस्थित सुनकोशी नदिमा मंगलबार विहान
८ः३० बजेको समयमा उक्त शव फेला परेको हो ।
फेला परेको बेवारिसे शवको पहिचान खुल्न नसकेपछि शवको सनाखत गरिदिन प्रहरीले
आग्रह समेत गरेको छ ।
११ गते आइतबार साँझ करिब ५ः४० बजेको समयमा नाम थर वतन नखुलेको अन्दाजी ४५÷५० वर्ष जतिको पुरुष सुनकोशी नदिमा हाम फालेर बेपत्ता भएका थिए । बेपत्ता भएका पुरुषको खोजी कार्य भईरहेको र रौतामाई गाउँपालिका–५ चनौटेमा भेटिएको बेवारिसे शवको हुलिया करिब मिल्दोजुल्दो भएको अप्रपोष्ट भण्डारेघाट खोटाङलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । आइतबार सेतो सर्ट, निलो कालो पाइन्ट, फुस्रो क्याप लगाएको मान्छे नदिमा हाम फालेको स्थानीय बासीको सुचना पाउन साथ प्रहरीले खोजी कार्य गरेको थियो । खोजी गर्ने क्रममा सुनकोशी नदिको किनारमा मकालु सफ्ट कम्पनीको खैरो रङको चप्पल फेला पारी सार्वजनिक गरेको थियो । रौतामाईस्थित चनौटेमा भेटिएको शवको हुलिया मानेभञ्ज्याङ गाउँपालिका वडा नं ७ माझीगाउँस्थित सुनकोशी नदिमा हामफालेर बेपत्ता भएका ब्यक्ति सँग मिल्दोजुल्दो भएकाले सनाखत गरिदिन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आग्रह समेत गरेको छ ।